काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभामा बिहीबार राति युक्रेनमा शान्ति स्थापना र रुसी सेना फिर्ता गर्ने सम्बन्धमा प्रस्तावलाई दुई तिहाइले पारित गरेको छ। उक्त प्रस्तावको पक्ष राष्ट्रको तर्फबाट नेपालले आफ्नो मत दिएको छ। संयुक्त राष्ट्र संघको उक्त प्रस्तावको पक्षमा १४१ राष्ट्र रहेका छन्।
यस्तै, उक्त प्रस्ताव प्रस्तुत गर्दा चीन, भारत र पाकिस्तान लगायत ३२ देश अनुपस्थित भएका छन्। त्यस्तै, ७ वटा देशले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका छन्। विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, सिरिया, माली, रुस, इरिट्रिया र निकारागुआ रहेका छन्।
![Rush_Ukrain_voting1677219273.png](https://nepallive.net/uploads/posts/Rush_Ukrain_voting1677219273.png)
संयुक्त राष्ट्र संघबाट उक्त प्रस्ताव पारित भएपछि युक्रेनले विश्वव्यापी समर्थनको प्रमाण रहेको भन्दै स्वागत गरेको छ। उता, संयुक्त राष्ट्रका लागि रुसी राजदूत दिमित्री पोलान्स्कीले यसलाई अनावश्यक भन्दै खारेज गर्न माग गरेका छन्। उनले उक्त प्रस्तावले शान्ति नल्याउने बरु युद्ध भड्काउनेहरूलाई थप प्रोत्साहित गर्ने टिप्पणी गरेका छन्।
रुस र युक्रेनको युद्ध सुरु भएको शुक्रबार १ वर्ष पुरा भएको छ। सोही अवसरमा युद्धको अन्त्य गर्न संयुक्त राष्ट्र संघमा उक्त प्रस्ताव आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।