काठमाडौं– नेपाल अणुव्रत समितिले अणुव्रत अमृत महोत्सवको शुभारम्भको अवसरमा मंगलबार बिहान बृहत प्रभातफेरी सम्पन्न गरेको छ। विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु उक्त प्रभातफेरीमा सहभागी भएका थिए। प्रभातफेरीका मुख्य अतिथिको रुपमा महजोडी अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य थिए।
यस्तै त्रिवि शिक्षण अस्पतालका पूर्व डिन प्राडा जगदीशप्रसाद अग्रवाल, संघीय सांसद रामहरी खतिवड़ा, वागमती प्रदेश सांसद श्रीराम लामिछाने, पूर्व मिस नेपाल उषा खड़्गी, वरिष्ठ गायक आनन्द कार्की, एनओसी नेपाल का चेयरमेन विष्णुगोपाल श्रेष्ठ, लगायतको सहभागिता थियो।
प्रभातफेरीमा विभिन्न विद्यालयका विद्यार्थी, समाजसेवी, नेपाल अणुव्रत समितिका निवर्तमान अध्यक्ष ज्योतिकुमार बेगानी, विश्व हिन्दू महासंघ, रिलिजन फर पिस, गुरु नानकसत्संग समिति आदी संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विविध क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व, विभिन्न सम्प्रदायका प्रतिनिधि, लगायत आम सर्वसाधारणको उल्लेखनिय उपस्थिति रहेको थियो।
प्रभातफेरीको पूर्व सन्ध्यामा भिति सोमबार बेलुकी पत्रकार भेटघाट आयोजना गरी अणुव्रतको आन्दोलन र अणुव्रतको विषयमा जानकारी दिइएको थियो। अणुव्रत आन्दोलन सुरुवात भएको ७५ औं वर्षको अवसरमा आयोजित यस अणुव्रत अमृत महोत्सव शुभारम्भ कार्यक्रम अणुव्रतका सिद्धान्तलाई जनमानसमा पुर्याउने लक्ष्य लिइएको नेपाल अणुव्रत समितिका अध्यक्ष दिनेश कुमार नौलखाले बताए।
उनले अणुव्रतका आचार संहिताबारे पनि जानकारी दिएका थिए। अणुव्रत आचार संहितामा कुनै प्राणिको हत्याहिंसा नगर्ने, कहिँ कसैलाई आक्रमण नगर्ने, मानवीय एकतामा विश्वास राख्ने, धार्मिक सहिष्णुतालाई कायम राख्ने, व्यवसाय र व्यवहारमा प्रामाणिक रहने, ब्रम्हचर्य साधना र संग्रहमा सीमा निर्धारण गर्ने सामाजिक कुरीतीलाई प्रशय नदिने, नशामुक्त जीवन जिउने र पर्यावरणप्रति सधैं सजग रहने जस्ता अणुव्रत नियम सबैले पालना गरे समाज सुन्दर हुने पनि बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।