काठमाडौं– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन्।
बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो। अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै सुरु हुने सहमति भएको बताए।
उनले कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगञ्जसम्मको सडकपनि अब चाँडै काम सुरु गर्ने सहमति चीन सरकारसँग भएको बताए। मन्त्री श्रेष्ठले चिनियाँ राजदूत छन सङसँग मन्त्रालयमा छलफल गरी छटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको जनाए।
उनले सो सडकखण्डमा भएका समस्याहरुको समाधान भइसकेको र अब निर्वाध रुपमा सडक बिस्तार गर्ने काम सुरु हुने प्रतिवद्धता जनाए।बिजुली
का पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम सुरु गर्ने उनको भनाइ छ। उनले स्वयम्भूनाथका संरचनाहरु भने नभत्काइकन त्यहाँको सडक डिजाइन परिवर्तन गर्ने सहमति भएको पनि बताए।
चीन सरकासँग कलंकीदेखि महाराजगञ्जसम्मको मात्रै सहमति भएपनि महाराजगञ्जदेखि धोबीखोलासम्मको सडक बिस्तार गरिदिन मन्त्री श्रेष्ठले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।