काठमाडौं– गत जेठ १५ गते मुस्ताङमा तारा एअरको दुर्घटनाग्रस्त बनेको विमानबारे छानबिनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको आयोगले आफ्नो अन्तिम प्रतिवेदन तयार बुझाएको छ।
आयोगले बुधबार पर्यटनमन्त्री सुधन किराँतीलाई आफ्नो प्रतिवेदन बुझाएको हो। उक्त प्रतिवेदनमा पाइलटको कमजोरीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ।
समितिले दुर्घटनाका सम्भावित कारकका रुपमा पाइलटको असावधानीलाई ठहर गरेको छ। उपलब्ध स्रोतको न्यून उपभोग गरेको र न्यून अनुभवी को–पाइलट हुँदा दुर्घटना भएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।
साथै जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘एयरक्राफ्ट अभोइडेन्स एण्ड वार्निङ सिस्टम’ अफ गरिएको प्रतिवेदनमा भनिएको छ।
जाँचबुझ आयोगमा वरिष्ठ एरोनेटिकल इन्जिनियर रतिश चन्द्रलाल सुमन, क्याप्टेन दीपुराज ज्वार्चन, वरिष्ठ मेन्टेनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, बरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सदस्यसचिव प्राविधिक बुद्धिसागर लामिछाने छन्।
तारा एयरको जहाज जेठ १५ गते बिहान १० बजेतिर पोखराबाट जोमसोमका लागि उडान भर्ने क्रममा मुस्ताङको सानुशरेमा दुर्घटनाग्रस्त बनेको थियो। जहाज दुर्घटनामा दुई जना जर्मन नागरिक, चारजना भारतीय, १३ जना नेपाली यात्रुसहित चालक दलका ३ सदस्य सबैको निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।