भरतपुर– चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन्। निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा २ गैँडा मरेका हुन्।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले ३ गैँडा मरेका छन्। जसमध्ये २ निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैँडा मारेका उनले बताए। निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका २ गैँडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो। अन्य कालगतिले मरेका हुन्।
सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर ७५२ गैँडा रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६९४ गैँडा छन्। चोरी सिकारीले गैँडा मार्न थालेपछि निकुञ्ज विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन सुरु गरेको छ। यससँगै निकुञ्ज प्रशासनले सुरक्षा रणनीतिलाई बलियो बनाउँदै लगेको छ।
गत आवमा निकुञ्ज र वन क्षेत्रमा गरी ४१ वटा गैँडा मरेका थिए। निकुञ्ज क्षेत्रमा ३७ र वन क्षेत्रमा ४ गैँडा मरेका तिवारीले जानकारी दिए। गत आवमा चोरी–सिकारीबाट २ गैँडा मरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।