काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्ध गरेको छ। थाई एयरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउण्ड ह्याण्डलिङ म्याद नगरेका कारण सोमबारदेखि खारेज गरेको प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम आज (सोमबार)का मितिदेखि बन्द गरिएको निरौलाले बताए। थाई एयरवेजका इन्जिनियरमार्फत् हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि बन्द गर्ने निर्णय भएको उनले बताए।
सम्पूर्ण सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायु सेवा निगमले नै गर्ने भएकाले सेवा नरोकिने निरौलाको भनाइ छ। थाई एयरवेजका इन्जिनियरमार्फत् हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा समेत विमानस्थलको मेन्टिनेन्स अर्गनाइजेसनबाट हुने निरौलाले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणको अनुसन्धान भइरहेकाले प्राधिकरणको निर्णयले केही परक नपर्ने बताए।
‘नेपाल नागरिक उड्डयन प्राधिकरणले विगत लामो समयदेखि थाई एयरलाइन्सले गर्दै आएको सेल्फ ग्राउण्ड ह्यान्डलिङको म्याद नथप्ने निर्णय गरेको छ। त्यसका साहयक कम्पनी, जीएसए कम्पनीले गर्दै आएको सेवाहरु आजका मितिदेखि बन्द भएका छन्। ग्राउण्ड ह्याण्डलिङ नेपाल वायुसेवा निगमबाट हुन्छ। सेवा रोकिँदैन, सुचारु हुन्छ,’ निरौलाले भने, ‘अनुसन्धानमा रहेको विषयलाई यो निर्णयले खासै फरक पार्दैन। अब सबै ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायुसेवा कम्पनीले नै गर्नेछ। जहाजको प्राविधिक जाँच विमानस्थलमा भएको मेन्टेनेन्स अर्गनाइजेसनबाट हुनेछ।’
विमानस्थलका महाप्रवन्धक ठाकुर घुस प्रकरणमा परेको थाई स्माइल थाई एयरवेजकै सब्सिडरी कम्पनी हो। थाई स्माइलले उडान संचालन सेवा दिए पनि थाईल्याण्डको नियामक निकायबाट आधिकारिक इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा रद्ध गरिएको प्राधिकरणले बताएको छ।
साताको ३५ वटा उडान गर्ने कम्पनीलाई मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति दिइने प्रावधान रहेको छ। विगतमा प्राधिकरणका महानिर्देशकले थाई एयरवेजले कोरियन, थाई स्माइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको थियो। प्राधिकरणका अनुसार थाई एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने वक्यौता १ करोड रुपैयाँ बढी छ।
थाई एयरवेजलाई ४ वटा एयरलाइन्सका जहाजलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा दिँदा मुलुकको वार्षिक ३ अर्ब रुपैयाँ गुम्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।