एजेन्सी– न्यूजिल्याण्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु भएको छ भने तीन हजार दुई सयभन्दा बढी बेपत्ता भएका छन्।
प्रधानमन्त्री क्रिस हिपकिन्सले ज्यान गुमाउनेको संख्षा बढ्नसक्ने बताएका छन्। साथै उनले पुननिर्माणका निम्ति करिब १३ अर्ब न्यूजिल्याण्ड डलर आवश्यक पर्ने बताएका छन्।
स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार साँझसम्म तीन हजार दुई सय १५ जना सम्पर्कविहीन भएका थिए भने २० हजारभन्दा बढी घर र व्यवसाय विद्युत्विहीन बनेका थिए। धेरै स्थानमा सम्पर्क विच्छेद भएकाले बेपत्ता भएकाको संख्या अझ बढी हुने अनुमान प्रहरीले गरेको छ। हक्स वे र ताइराविटी क्षेत्रका धेरै मानिस हराएका छन्।
प्राकृतिक विपत्तिबाट करिब दश हजार सर्वसाधारण विस्थापित भएका छन्। सन् २०११ को फेब्रुवरीमा क्राइस्टचर्च भूकम्पपछि न्यूजिल्याण्डमा अति धेरै सर्वसाधारण विस्थापित भएका हुन्।
प्रधानमन्त्री हिपकिन्सले चक्रवात गेब्रियल यो शताब्दीको सबैभन्दा भीषण प्राकृतिक विपत्ति परेको र त्यसले देशमा अकल्पनीय क्षति भएको बताएका छन्।
गत सोमबारदेखि न्यूजिल्याण्डमा आपत्कालीन स्थिति घोषणा गरिएको छ। देशको इतिहासमा यो तेस्रो आतकाल हो। प्रतिकूल परिस्थितिका कारण हवाई सेवाका साथै विद्यालय पनि बन्द छन्। देशको सबैभन्दा ठूलो सहर अकल्याण्डमा तीन साताअघि मुसलधारे वर्षा हुँदा चार जनाले ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।