काठमाडौ– चलचित्र विकास बोर्डले दुबईमा आयोजना गरेको चारदिने ‘नेपाल सिनेमा फेस्ट–२०२३’ सम्पन्न भएको छ। ०७९ माघ २९ गतेदेखि फागुन ३ सम्म भएको कार्यक्रममा नेपाली चलचित्रका निर्देशक, निर्माता, वितरक, कलाकार, सञ्चारकर्मी तथा गैरआवासीय नेपालीहरूको सहभागिता रहेको थियो।
उक्त फेस्ट विवादित कम्पनी सूर्य कर्पोरेशन प्रालिलाई साझेदार बनाएको र ‘महापुरुष’ अनुमति बिनै प्रदर्शन गर्न लागेको कुराले सुरु हुनुअगावै विवादमा गएको थियो। विवादका कारण कलाकार नीर शाहले फेस्टिभलमा आफू सहभागी नहुने घोषणा गरेका थिए।
कलाकार विजय लामाले भने आफ्नो अनुमति विनै पोस्टर राखेको भन्दै आपत्ति जनाएमा थिए।
फेस्टिभलमा बोर्ड अध्यक्ष भुवन केसीसहित हल सञ्चालक नकिम उद्दिन, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, निर्देशक तथा सञ्चारकर्मी भुषण दाहाल, निर्देशक रामबाबु गुरुङ, निर्माता रामकृष्ण पोखरेल, वितरक तथा निर्माता गोविन्द शाही, नायिका ऋचा शर्मा, नायक अनमोल केसी, नायिका उपासना सिंह ठकुरी लगायत दुबईस्थित व्यावसायीहरु र गैरआवासीय संघका प्रतिनिधिहरू उपस्थित थिए।
बोर्डले एक विज्ञप्तिमार्फत् फिल्म छायांकनका लागि नेपाल आउन त्यहाँका फिल्ममेकरलाई आग्रह गरिएको बताएको छ। साथै नेपाली चलचित्र संयुक्त अरब इमिरेट्समा छायांकन हुँदा त्यहाँको सरकारबाट प्रोत्साहन प्रदान गर्न अनुरोध गरिएको बताएको छ।
फेस्टमा बोर्डले तयार पारेको गण्डकी प्रदेशको पर्यटन क्षेत्र र छायाङ्कन गन्तव्य सम्बन्धी श्रव्यदृश्य प्रचारसामग्री प्रदर्शन गरिएको थियो।
फेस्टको क्रममा ‘नेपाली फिल्मको प्रवर्द्धन र विदेशी बजार’ विषयमा छलफल भएको बोर्डले जनाएको छ। कलाकार, निर्माता, वितरक र प्रदर्शकहरुबीच भएको छलफलमा एफएक्स निर्देशक तथा एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिन, निर्देशक भुषण दाहाल, अभिनेत्री ऋचा शर्मा र मध्यपूर्व वितरक रमेश ढकाल सहभाग थिए।
‘फेस्टको दौरान अबदेखि नेपाली फिल्म मध्यपूर्वका ६ वटा देशका ५० भन्दा बढी हलमा एकसाथ प्रदर्शनमा आउने सहमति गरेका छौँ। नेपाली फिल्मका मध्यपूर्वका वितरक रमेश ढकाल र बोर्डले यस विषयमा लिखित सहमति गरेको छ। सम्झौताको समयमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल, गैरआवासीय नेपाली संघ, अध्यक्ष कुल आचार्य पनि उपस्थिति हुनुहुन्थ्यो,’ बोर्डले बताएको छ।
फेस्टको क्रममा नेपालमा व्यावसायिक रुपमा सर्वाधिक कमाइ गरेको फिल्म ‘कबड्डी ४’ र यस वर्ष नेपालबाट अस्कर अवार्डमा पठाइएको फिल्म 'ऐना झ्यालको पुतली' प्रदर्शन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।