काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शंकास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिएका छन्।
ह्वाइट हाउसले ट्वीटरमा उल्लेख गरेअनुसार राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई अमेरिकी आकाशमा मानवरहित वायुजन्य वस्तुहरू पत्ता लगाउने संयन्त्र स्थापना गर्न निर्देशन दिएका छन्।
राष्ट्रपति बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई मानवरहित सम्भावित वायुजन्य वस्तुहरूको सूची तयार पार्न र यी वस्तुहरू पत्ता लगाउने क्षमता सुधार गर्न थप उपायहरू अवलम्बन गर्नसमेत निर्देशन दिएका छन्।
अमेरिकी आकाशमा हालै देखिएका शंकास्पद वस्तुहरूबारे अमेरिकाको प्रतिक्रियाका विषयमा टिप्पणी गर्दै राष्ट्रपति बाइडेनले गुप्तचर निकायले विगतका दिनहरूमा खसालेका तीन वस्तुहरू चीनको निगरानी प्रणालीसँग सम्बन्धित रहेको वा नरहेको बारे थप अनुसन्धान गर्नसमेत निर्देशन दिएको बताइएको छ।
यसैबीच राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफीङसँग वार्ता गर्ने अपेक्षा गरेको पनि उल्लेख गरेका छन्। खुफिया निकायको पछिल्लो अनुसन्धान अनुसार ती वस्तुहरू प्रायः निजी कम्पनीहरू वा मौसम अध्ययन गर्ने वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थाहरूसँग सम्बन्धित बेलुनहरु थिए।
गत फेब्रुअरी ४ मा चीनले मुख्य रूपमा मौसम विज्ञानको अनुसन्धानका लागि प्रयोग गरिएको नागरिक हवाई जहाज भएको दाबी गरेको विशाल बलुनलाई एक हप्तासम्म देशमा घुमाएपछि खसालेको अमेरिकाको दाबी छ।
राष्ट्रपति बाइडेनले केही समय अघि देखिएका ती तीन वस्तुहरू चिनियाँ जासुस बलुन कार्यक्रमसँग सम्बन्धित हुन् वा अन्य कुनै देशको निगरानी सम्यन्त्रसँग सम्बन्धित हुनसक्छन् भन्ने बारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।