नयाँ दिल्ली (एजेन्सी)– अस्ट्रेलियालाई पहिले टेस्ट शृंखलामा पराजित गरेपछि भारतले एकदिवसीय शृंखला पनि ४–१ ले कब्जा गर्यो। अहिले टि–२० शृंखला चलिरहेको छ। यसमा पनि भारत १–० ले अगाडि छ।
राचीमा भएको पहिलो टि–२० शृंखलामा वर्षा बाधक भएपनि भारतले सहजै खेल जितेको थियो। भारतको जितमा युजवेन्द्र चहल र कुलदीप यादवले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। चहलले जहाँ बिस्फोटक ब्याट्सम्यान ग्लेन मेक्सवेललाई भारत भ्रमणको क्रममा चौथो पल्ट आउट गरे, कुलदीपले पनि एरोन फिन्च र मोइसेस हेनरिकेजको महत्वपूर्ण विकेट लिएका थिए।
पछिल्लो समय भारतले एकपछि अर्को पाउँदै गरेको सफलताको विषयमा कप्तान विराट कोहलीले पहिलो पल्ट प्रतिक्रिया जनाएका छन्। उनले जितको रहस्य खोल्दै यसको श्रेय टिम व्यवस्थापनलाई दिएका छन्।
मुख्य प्रशिक्षकमा रवी शास्त्रीको चयनपछि उत्साही देखिएका विराटले भने, ‘खेलाडीको मिहिनतको प्रतिफल मात्र होइन, टिमको सफलतामा टिम व्यवस्थापनको पनि उत्तिकै हात छ। उसले खेलको फर्मेटअनुसार खेलाडी छनोट गर्यो। चहल र कुलदीपलाई लगातार मौका दिनु हाम्रो लागि फलदायी सावित भयो।’
चहल र कुलदीपलाई श्रीलंका भ्रमणदेखि नै भारतीय टिममा समावेश गरिएको छ। ‘यसले निकै ठूलो फाइदा पुगेको छ। यद्दपी एक खेलमा उनीहरुले रन दिए तर अर्को खेलमा राम्रो पुनरागमन गरे।’
तीब्र बलिङमा भुवनेश्वर कुमार र जसप्रित बुमराहको जोडीले राम्रो गरिरहेको उनको भनाई थियो। अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथ पनि भुवनेश्वर र जसप्रितलाई विश्वको सबैभन्दा सफल ‘डेथ ओभर’ बलर मान्छन्।
भारतीय बलिङ लाइनअपमा अहिले स्पिनरमा रवीचन्द्रन अश्विन, रवीन्द्र जडेजा र अक्षर पटेल तथा तीब्र बलरमा मोहम्मद समी, उमेश यादव पनि छन्। यसले भारतीय टिमको ताकत बढेको विराटको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।