काठमाडौं– प्रदेश १ मा पहिलोपटक चलचित्र महोत्सव आयोजना हुने भएको छ। प्रदेशमै पहिलो पटक गर्न लागिएको चलचित्र महोत्सव नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो।
बुधबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी दिइएको जानकारी अनुसार सुनसरीको सदरमुकाम इनरुवामा फागुनको ७ गतेबाट महोत्सव सुरु हुनेछ।
महोत्सव फागुनको १२ गतेसम्म चल्नेछ। इनरुवा नगरपालिकाको संयोजन र प्रदेश सरकारको विशेष सहयोगमा आयोजना हुन लागेको महोत्सवलाई आयोजकले इनरुवा उत्सव तथा चलचित्र महोत्सवको रुपमा सञ्चालनमा ल्याउन लागेको छ।
चलचित्र महोत्सवमा दुई दर्जन बढी चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ। महोत्सवलाई आयोजकले प्रदेश १ का कलाकारहरुको भावना र सम्मानलाई आत्मसाथ गर्दै दर्शकमाझ नेपाली चलचित्रलाई माया गर्ने परिपार्टीको विकास गर्ने माध्यमका रुपमा अघि बढाउन लागेको जनाएको छ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा स्थानीय कला प्रवर्द्धनसँगै विधागत प्रतिष्पर्धा र उत्कृष्ट व्यक्तित्व र कलाकारका रुपमा तारा सम्मान जस्ता कार्यक्रमको आयोजना गरिनेछ।
महोत्सवमा बेहुली प्रतियोगिता, फेन्सी ड्रेस, नृत्य, निबन्ध, कुस्ती लगायतका प्रतियोगिताका साथै राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम समेतको आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।