काठमाडौं- बीबीसी हिन्दीको दिल्ली र मुम्बईस्थित कार्यालयमा भारतीय आयकर विभागले छापा मारेको छ। विभागका करिब ६०/७० जना कर्मचारीले कार्यालयमा छापा मारेको दैनिक भाष्करले जनाएको छ।
बीबीसीको कार्यालयमा रहेका सबै कर्मचारीको फोन जफत गरेर विभागले छापा मारेको बताइएको छ। साथै, कर्मचारीलाई आवागमनमा पनि प्रतिबन्ध लगाइएको उल्लेख छ। यस्तै, बीबीसी हिन्दीले आफ्नो कार्यालयमा छापा मारिएको सूचना लण्डनस्थित बीबीसीको प्रधान कार्यालयलाई जानकारी गराएको छ।
भारतीय आयकर विभाग स्रोतका अनुसार बीबीसी हिन्दीले करमा गडबड गरेको आशंकामा छापा मारिएको हाे। यद्यपि, आयकर विभागले यसबारे आधिकारिक जानकारी दिएको भने छैन।
यता, बीबीसीमा छापा मारेको विषयमा भारतीय कंग्रेसले कडा आपत्ति जनाएको छ। उक्त पार्टीको आधिकारिक ट्विटर हेण्डलमार्फत 'अघोषित आपत्काल' को संज्ञा दिइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००२ मा मुख्यमन्त्री हुँदा गुजरातमा भएको दङ्गालाई लिएर बीबीसीले एक भिडियो सामग्री बनाएको थियो। जसलाई मोदी नेतृत्वको भाजपा सरकारले भारतमा प्रतिबन्ध लगाएको थियो। यसले भारतमा तीव्र ध्रुवीकरण पैदा गराएको छ।
यस्तै, पछिल्ला दिनमा भारतीय व्यापारी तथा एनडीटीभीका मालिक गौतम अडानीको विवादास्पद आर्थिक गतिविधि सार्वजनिक भएसँगै सार्वजनिक विरोध भइरहेको थियो।
अडानी र प्रधानमन्त्री मोदीको सम्बन्धबारे फोटो/भिडियोहरु सार्वजनिक भएसँगै प्रश्नहरु उठेपछि ध्यान अन्यत्रै मोड्न पनि बीबीसीको कार्यालयमा छापा मारिएकाे हुनसक्ने आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।