एजेन्सी– गत सोमबार टर्कीमा गएको भूकम्पमा परी टर्की र सिरियामा गरी ३७ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ।
यसैबीच संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमा पुरिएका जिवित नागरिकलाई सहयोग पुर्याउन केन्द्रित हुने बताएको छ।
संयुक्त राष्ट्रको राहत संस्था यूएन एडका प्रमुख मार्टिन ग्रिफिथले भूकम्प प्रभावित मानिसका लागि बस्ने स्थान, खाना, स्कुलको व्यवस्था र मानसिक स्वास्थ्यसँग जोडिएका सहयोग उपलब्ध गराउन राहत एजेन्सीहरुलाई केन्द्रित हुन अनुरोध गरेको छ।
अहिले पनि भग्नावशेषमुनि केही मानिसहरु पुरिएको हुनसक्ने उनले बताएका छन्। कैयौं मानिसको भग्नावशेषबाट उद्धार गरिएको छ।
उनले सिरियामा भने सरकार नियन्त्रित क्षेत्रबाट विद्रोही नियन्त्रित क्षेत्रमा सहयोग सामग्री पुर्याउनुपर्ने बताएका छन्। साथै सहयोगी संस्था द व्हाइट हेलमेट्सले सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा मानिसहरु निराश रहेको र विश्वले एक्लै छाडिदएको महशुस गरेको बताएको छ।
यस्तै अझै भग्नावशेषमा पूर्ण रुपमा खोजी नभएकाले मृतकको संख्या दोब्बर हुनसक्ने संयुक्त राष्ट्रसंघले आकलन गरेको छ। भग्नावशेषमा दबिएका शवहरु निकाल्ने क्रम जारी रहेको छ। साथै अस्पतालहरुमा गम्भिर घाइतेहरुको संख्या पनि उच्च रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।