इस्तानबुल- टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्।
उद्धारकर्मीहरूका अनुसार टर्कीमा २० हजार छ सय ८५ जना तथा सिरियामा तीन हजार पाँच सय जनाले ज्यान गुमाएका छन्। मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ। टर्की र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन्।
टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ। उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन्।
भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार एक सय पाँच घण्टापछि उद्धार गरिएकी एक महिलाको आज निधन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।