धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कमलबहादुर शाहले पदभार ग्रहण गरेका छन्। पद सम्हालेलगत्तै मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दै गएको आर्थिक अनियमितता तथा भ्रष्टाचार न्यूनिकरण गर्ने प्राथमिकता रहेको प्रतिक्रिया दिएका छन्।
‘भ्रष्टाचार कसरी नियन्त्रण र निर्मुल गर्न सकिन्छ भन्ने सन्दर्भमा निर्णय गरेका छौं। एक समिति बनाएका छौं। त्यो समितिले २० दिनभित्र प्रतिवेदन पेस गर्ने छ’, उनले भने, ‘सोही कार्ययोजना अनुसार अघि बढ्छौं।’
मुख्यमन्त्री शाहले यो सरकारलाई निरन्तरता दिन सबै दलहरुलाई सहभागी गराउन खुल्ला बहस तथा छलफल गर्ने बताए। ‘यो सरकारलाई स्थिर बनाउन आवश्यक देखिएकोले प्रदेश सभामा रहेका दलहरुलाई सहभागी हुन आह्वान गर्ने छु’, उनले भने, ‘चुनौती तथा सम्भावनाको खोजी गर्दै जनताले विश्वास गर्ने गरि प्रदेशमा योजना लागू गर्नेछु।’
मुख्यमन्त्री शाहले प्रदेश मन्त्रीमण्डल विस्तारमा ढिलाई नगर्ने तथा विश्वासको मत छिटोभन्दा छिटो लग्ने पनि बताए।
यस्तै, नवनियुक्त भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै प्रदेशमा बन्ने पुलहरुको सूचक तयार गर्ने निर्णय गरेका छन्। पद सम्हालेसँगै मन्त्री देउवाले भने, ‘प्रदेशमा बन्ने पुल कुन–कुन स्तरका हुने भन्ने एउटा प्रादेशिक सडक पुलको मापनचित्र तयार गर्ने निर्णय गरेको छु।’
मन्त्री देउवाले जिम्मेवारी मन्त्रालयको पद सम्हालेकोले जनताका आधारभूत आवश्यकता पूरा गर्नतर्फ आफ्नो ध्यान केन्द्रित रहने पनि बताए।
उनले भने, ‘मेरो मन्त्रालय अन्तर्गत सडक र पुलमात्र नभई सिँचाई, तटबन्धन, खानेपानी, पूर्वाधार विकास लगायत पनि रहेका छन्। प्रदेशका हरेक नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुर्याउने पनि योजना निर्माण गरिनेछ।’
आर्थिक मामिलामन्त्रीमा नियुक्त नरेश शाहीले पद सम्हाले पनि कुनै निर्णयमा हस्ताक्षर गरेनन्। मन्त्री शाहीले संविधानतः हस्ताक्षर गर्नैपर्ने भए गर्ने तर, अध्ययनबिना कुनै निर्णयमा हस्ताक्षर नगर्ने बताए। उनले युवा उद्यमशिलता र ग्रामिण अर्थतन्त्रलाई मध्यनजर गर्ने गरी निर्णय गर्ने बताए।
‘हाम्रो विषय त्यो हो। हामी छलफल गर्दैछौँ’, उनले भने ‘दुइटा जिम्मेवारी छ हाम्रो। पहिलो कुरा, हामी संघीय संरचनामा छौँ, प्रदेशप्रतिको विश्वसनियता बढाउने र सबै जनताको प्रदेशप्रति आकर्षण बढाउने जिम्मेवारी हामीले पूरा गर्नुपर्छ।’
उनले सुदूरपश्चिमका जनताको आर्थिक अवस्थालाई माथि उकास्नका लागि नयां ढंगबाट बहस, छलफल हुन जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।