काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घूस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन्।
शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घूस मागेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए।
मन्त्री किरातीले महाप्रबन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घूस मागेका निलम्बन गरेको बताए। उनले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने बताए। आफूले कसैको पनि एक पैसा नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने मन्त्री किरातीले चेतावनी दिए। उनले मन्त्री वा जिम्मेवार निकायको कुर्सीमा बसेर देशलाई धोका दिन नहुने बताए।
मन्त्री किरातीले कोही घूस खानका लागि मन्त्री हुन आए उसलाई जनताले सजाय दिने बताए। ‘सुविधामा होडबाजी गर्ने काममा राजनीतिक हस्तक्षेप भएर मात्रै नभएको हो त, होइन। यो मन्त्रीले पैसा खाँदैन। मन्त्रीलाई पैसा मन पर्दैन। ढुक्कसँग काम गर्नुस्। सरकारले अप्रिय निर्णय आज मात्रै गरेर आउनु पर्यो। विमानस्थलको निर्देशकलाई भर्खरै निलम्बन गरेर आएँ’, मन्त्री किरातीले भने।
उनले पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घूस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताए। मन्त्री किरातीले सुशासन विधिको शासनभन्दा बाहिर कोही चल्न नसक्ने उल्लेख गरे। उनले पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उल्लेख गरे।
पर्यटन बोर्डको नीतिले निजी क्षेत्रलाई असहजता भइरहेको मन्त्री किरातीले तर्क गरे। उनले प्रधानमन्त्रीले संसद्मा गरेको सम्बोधन र सचिवहरूलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना पर्यटन मन्त्रालयले तयार पारेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।