धनगढी- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एकीकृत समाजवादी र स्वतन्त्रलाई सरकारमा समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।
शुक्रबार साढे ३ बजे पद तथा गोपनीयताको सपथ लिन लागेका मुख्यमन्त्री शाहले नेकपा एसका प्रदेश सभा सदस्य र स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीलाई मन्त्री बनाएर सरकारमा लैजाने तयारी गरेका हुन्।
प्रदेश सभाबाट बहुमत प्राप्त नभएपछि राजेन्द्र रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए। बिहीबार नियुक्त भएका शाहले एस र स्वतन्त्र प्रदेश सभा सदस्यलाई शुक्रबार मन्त्रीमा नियुक्त गर्ने भएका हुन्।
संविधानको धारा १६८ उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त शाहले नेकपा माओवादी केन्द्रलाई पनि सरकारमा लैजाने गरी गृहकार्य गरिरहेका छन्। प्रदेश सभा सदस्य प्रकाश बमले भने, ‘नेकपा एस र स्वतन्त्र प्रदेश सभा सदस्यहरुलाई सरकारमा समावेश गरिन्छ। विस्तारै नेकपा माओवादी केन्द्रसँग पनि छलफल तथा वार्ता हुन्छ।’
मुख्यमन्त्रीमा नियुक्त शाहले आफूलाई विश्वासको मत पाउन कठिन नरहेको बताए। उनले भने, ‘मलाई विश्वासको मत पाउन कठिन छैन। छिट्टै विश्वासको मत पाउँछु।’ उनले अघिल्लो मुख्यमन्त्री भन्दा सबैले आफूलाई विश्वास गर्ने बताए।
नेकपा माओवादी केन्द्रको समर्थन पाएमा उनको पक्षमा ३४ प्रदेश सभा सदस्य हुनेछन्। यद्यपि, नेकपा माओवादी केन्द्रले अहिले नै समर्थन गर्ने वा नगर्नेबारे निर्णय लिएको छैन। शाह भन्छन्, ‘नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुसँग छुट्टा-छुट्टै छलफल गर्दा सकारात्मक छन्। यद्यपि, दलको निर्णय आउन नसकेकोले समर्थन गर्ने वा नगर्नेबारे भन्न सकिँदैन।’ नेकपा माओवादी केन्द्रले पनि प्रदेश सरकारलाई अस्थिरतातर्फ धकेल्न नचाहेको उनको प्रतिक्रिया रहेको छ।
प्रदेशमा नेपाली कांग्रेसका १९, नेकपा एसका ४ र एक स्वतन्त्र प्रदेश सभा सदस्य गरी २४ जना रहेका छन्। यो संख्याका आधारमा मुख्यमन्त्री शाहलाई बहुमत पाउन सक्ने सम्भावना छैन।
सत्ता गठबन्धन दल भित्रकै साथ र सहयोग लिएमा उनलाई बहुमत पाउन समस्या छैन। सत्ता गठबन्धन दलमा नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ गरी २९ प्रदेश सभा सदस्य रहेका छन्। नागरिक उन्मुक्ति पार्टीको सहयोग नपाउँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।