ब्रसेल्स– युरोपेली युनियन (इयू) सदस्य राष्ट्रहरू एवं इयू नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित देश टर्कीमा बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन्। भूकम्पबाट उत्पन्न सङ्कट व्यवस्थापनका लागि युरोपेली आयुक्त लेनार्सिकले सो कदम चालिएको बताएका छन्।
टोलीमा करिब १ हजार ५ सय उद्धारकर्मी, स्वास्थ्यकर्मीका साथै एक सयवटा खोज तथा उद्धार कुकुर परिचालन गरिएको बताइएको छ। इयू सुरक्षा टोलीहरू पनि समन्वयमा सहयोग गर्न खटाइएको उनले बताएका छन्।
सोमबार देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प गएपछि टर्कीले इयू नागरिक सुरक्षा संयन्त्र सक्रिय बनाएको छ। यस किसिमको समूह युरोप र बाहिरका कुनै पनि देशका लागि आवश्यक उद्धारका लागि तयार गरिएको हो। स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ मा तुर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।
टर्कीको दक्षिणी प्रान्त हाते र सिरियाको उत्तरी शहर एलेप्पोमा सबैभन्दा ठूलो जनधनको क्षति भएको छ। लेबनान, इजरायल र साइप्रसले पनि भूकम्पको धक्का महसुस गरेका छन्। इयुले भूकम्प प्रभावित देशहरूमा राहत र उद्धारको कामलाई तीव्रता दिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।