एजेन्सी– टर्की र सीरियामा सोमबार गएको भूकम्पमा परी दुवै देशका पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। मृतकहरुको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग पठाउने प्रतिबद्धता आएको बताएका छन्।
यसका साथै उनले देशको दक्षिण क्षेत्रका १० ठाउँमा तीन महिनाका लागि आपतकाल घोषणा गरेका छन्। पूरै विश्वभर रहेका टर्कीस नागरिक आफ्ना परिवारका सदस्यको खोजीका लागि देश फर्किएका छन्।
राहत र बचाउ अभियानमा चिसो र हिमपातका कारण निकै समस्या परिरहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। कैयौंको जिवितै उद्धार गरिएको छ।
कैयौं मानिसहरु भत्किएका घरभित्रबाट उद्धारका लागि गुहार मागिरहेका छन्। विश्व स्वास्थ्य संगठनले भूकम्पबाट लाखौं मानिस प्रभावित हुने अनुमान गरेको छ।
यस आपतबाट टर्की र सीरियाका करिब २ करोड तीन लाखभन्दा बढी मानिस प्रभावित हुने संगठनले आशंका गरेको छ। बीबीसीका अनुसार सन् १९३९ पछि आएका सबैभन्दा खतरनाक सोमबारको भूकम्पलाई लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।