काठमाडौं– धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका छन्।
सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले बोर्डको अध्यक्ष भएर आएको ११ महिनामा बाहिर बजारमा हल्ला आएजस्तो आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका हुन्।
उनले आफूले धितोपत्र बोर्डमा सुधारका तत्काल धेरै काम सुरु गरेपछि चौतर्फी आक्रमण गरी चरित्र हत्या गर्न खोजिएको आरोप लगाए। उनले आफूले कुनै पनि वित्तीय रुपमा गल्ती गरेको प्रमाण भए कानुन अनुसार कारबाही हुने बताए।
कानुन विपरीत काम गर्नेलाई कारबाही गरेपछि आफूलाई घेराबन्दीमा पारिएको उनको गुनासो छ। उनले आफूले कुनै वित्तीय गल्ती गरेको प्रमाण ल्याएमा टुँडिखेलमा गएर झुन्डिन तयार रहेको समेत बताए।
बोर्डले धितोपत्र बजारमा सुधारका धेरै कामहरुको थालनी गरेको हमालको दाबी छ। उनले नागरिकताको सवालमा आफूसँग नेपाल बाहेक अन्य कुनै पनि देशको नागरिकता, स्थायी बसोबास अनुमति जस्ता कागजात नभएको दाबी गरे।
उनले समयमा नै विवरण नबुझाउने संस्थाहरुलाई तत्काल कारबाही गर्ने चेतावनी दिए। बार्डले जे गरी पनि कुनै कारबाही गर्दैन भने परम्परालाई तोड्दै कारबाही गर्ने थिती अपनाएको हमालको भनाइ छ।
बोर्डका कार्यकारी निर्देशक नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठले नयाँ अध्यक्ष आएको १० महिनामा ३८ वटा संस्थाहरुलाई साधारण सेयर आईपीओ निस्काशन अनुमति दिइएको बताए। उनले बोर्डले प्रत्येक महिनाको ४ वटा कम्पनीका दरले आईपीओ निस्कासन अनुमति पाइरहेको उल्लेख गरे।
१० महिनामा यति धेरै काम गर्दा पनि बोर्डले केही काम नगरेको भन्ने गुनासो आइरहेको उनको टिप्पणी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।