काठमाडौं– साविकको कृषि ज्ञान केन्द्र हुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख राम सुरत पाल (गडरिया) सहित ६ जनाविरुद्ध अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सृजनशील कृषि सहकारी संस्थाले रकम हिनामिना गरेको भन्ने उजूरीका आधारमा जिल्ला कृषि विकास कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख पालसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।
कृषि विकास कार्यालय हुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख पाल, तत्कालीन सब इन्जिनियर दिलबहादुर बोहोरा, सृजनशील कृषि सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष लालबहादुर बुढा, सचिव नन्दबहादुर रोकाया, कोषाध्यक्ष रामशिला रोकाया र सदस्य प्रेमबहादुर बुढाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले मुद्दा दायर गरेको हो।
साविक कृषि ज्ञान केन्द्र हुम्लाको आव २०७५/०७६ को सहकारी नमूना गाउँ स्थापना तथा सञ्चालन कार्यक्रम अन्तर्गतको उमान्दे खोलादेखि बल्देकाध सिंचाई कुलो निर्माण र सहकारी नमूना गाउँको जग्गा घेरबार कार्यमा भएको वास्तविक कार्यभन्दा बढी काम भएको झुटा बिल, भरपाई, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन बनाई ११ लाख २६ हजार ५२८ रुपैयाँ ८९ पैसा बढी भुक्तानी लिएको भन्दै मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उनीहरुविरुद्ध ११ लाख २६ हजार ५२८ रुपैयाँ ८९ पैसाको माग दाबी समेत गरिएको छ। निजहरुले धुक्तानी लिई, दिई आफूलाई गैरकानुनी लाभ पुर्याएको र प्रदेश सरकारलाई गैरकानुनी हानी पुर्याएको पुष्टि भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन २०४८ को दफा ३६ बमोजिम सोमबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।