काठमाडौं– विदेशमा रहेका नेपालीहरुले पठाउने रेमिट्यान्स वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तिय स्थितिमा रेमिट्यान्समा वृद्धि भएको देखिएको छ।
गत वर्षको तुलनामा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स २४.३ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ।
राष्ट्र बैंकले सोमबार पुस मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गर्दै ६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको जनाएको छ।
गत वर्ष रेमिट्यान्स वृद्धिदर ५ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा पनि रेमिट्यान्स १३.९ प्रतिशतले घटेको छ। पुससम्म ४ अर्ब ५० करोड डलर भित्रिएको छ।
त्यस्तै, वर्षभरी नै ऋणात्मक रहेको शोधनान्तर पुस मसान्तसम्म आइपुग्दा करिब उकालो लागेको छ। राष्ट्र बैंकको सोमबारको तथ्यांक अनुसार शोधनान्तर बचत ९७ खर्ब १० करोड रुपैयाँ छ।
चालु खाता घाटा भने यथावत नै रहेको तथ्यांकमा उल्लेख छ। यसपटक २९ अर्ब ४७ करोड रुपैयाँ चालु खाता घाटामा रहेको छ। पोहोर ३५३ अर्ब १६ करोड घाटामा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।