काठमाडौं– वर्तमान सरकारमा रहने वा नरहने भनेर निर्णय गर्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त बैठक बिना निष्कर्ष सकिएको छ।
शनिबार बेलुकीदेखि सुरु भएको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको पछिल्लो भेटवार्ताबारे ब्रिफिङ गरेका थिए।
यसअघि बिहीबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले आफूहरुको माग सम्बोधनका लागि भन्दै प्रधानमन्त्री र सत्ता साझेदार दलहरुलाई २ दिनको समय दिने निर्णय गरेको थियो।
अमेरिकी राहदानी त्यागेर पुन: नेपाली नागरिकता प्राप्तिको प्रक्रिया पूरा गरेको नदेखिएको भन्ने सर्वोच्च अदालतको फैसलाले सभापति रवि लामिछानेको उपप्रधानसहित गृहमन्त्री पद गुमेपछि रास्वपाले गृहमन्त्री पदमा पुन: दाबी गरिरहेको छ।
सर्वोच्चको फैसलापछि पुन: नेपाली नागरिकता लिएका लामिछाने स्वयंले गैरसांसदको रुपमा सरकारमा सहभागी भएर गृह मन्त्रालयको नेतृत्व गर्ने चाहना व्यक्त गर्दै आएका छन्।
दोहोरो राहदानीको समेत विवाद रहेको तथा नागरिकता विवादका सन्दर्भमा सर्वोच्चको फैसलाको पूर्णपाठ आउन बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई गृहमन्त्री पद दिन नसकिने बताउँदै आएका थिए। पछिल्लो समय माओवादी केन्द्रभित्र गृहमन्त्री पद आफूसँग राख्नुपर्ने दबाब बढेपछि प्रधानमन्त्री प्रचण्डले अरु कुनै मन्त्रालय लिन प्रस्ताव गरेका थिए।
यसअघि सरकार गठनका बेला सत्ता साझेदार दलहरुबीच भागबण्डा हुँदा गृह मन्त्रालय आफूहरुको भागमा परेको र उक्त पद छाड्न नसकिने रास्वपाका नेताहरुको अडान थियो। यहीबीच बिहीबार बसेको संयुक्त बैठकले प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो।
रास्वपाले दिएको २ दिनको समय शनिबार सकिन लागेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा एमाले अध्यक्ष ओलीको पनि समर्थन रहेको जनाइएको छ।
शनिबारको बैठकमा पार्टी सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीबारे ब्रिफिङ गर्दै सरकारमा रहँदा र बाहिरिँदाको अवस्था तथा परिणामबारे पनि धारणा राखेका थिए।
लामिछानेको धारणामाथि केही नेताहरुले विचार राखेको र अरुले पनि त्यसमा छलफल गर्न चाहेको भन्दै बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको जनाइएको छ।
‘आज सभापतिले प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीसँग भएको कुराकानीबारे ब्रिफिङ गर्नुभो। सरकारमा रहँदा र बाहिरिँदाका सम्भावित परिणाम र अवस्थाबारे पनि उहाँले आफ्नो धारणा राख्नुभयो। जसअनुसार अझै पर्याप्त छलफल आवश्यक भएकले कुनै निर्णय भएन्,’ रास्वपाका एक नेताले भने, ‘अर्को बैठक भोलि (आइतबार) बिहान ११ बजे बस्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।