काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छोड्ने सम्बन्धमा निर्णायक बैठक अहिले काठमाडौंको बसुन्धरास्थित पार्टी कार्यालयमा बसिरहेको छ।
नागरिकता प्रकरणपछि उपप्रधान तथा गृहमन्त्री पद गुमाएका सभापति रवि लामिछानेले पुनः सोही पदमा फर्किने तय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई अस्वीकार गरेका थिए।
उक्त विषयलाई लिएर रास्वपाले शनिबार बेलुकासम्मको अल्टिमेटम दिएको थियो। अल्टिमेटम सकिएपछि आगामी रणनीति तय गर्न रास्वपाको बैठक बसिरहेको हो।
बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको थियो।
उक्त भेटवार्तामा लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको विल्कप खोज्न आग्रह गरेका थिए।
यसमा लामिछाने सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रेस संयोजक मनहरि तिमिल्सिनाले दाबी गरेका छन्।
यसैबीच, प्रधानमन्त्री प्रचण्डले रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेको स्रोतको दाबी छ। यही मन्त्रालय लिने वा गृह मन्त्रालयमा अडान राख्ने भन्ने विषयमा अहिले छलफल जारी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।