काठमाडौं– लागुऔषधको प्रयोगका कारण मधेस प्रदेशमा अपराधिक घटनाहरु बढ्दै गएको भन्दै नेपाल प्रहरीले थप सतर्कता अपनाउन आग्रह गरेको छ।
मधेस प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका छन्। खुला सीमानाकाका कारण पनि लागुऔषध दुव्र्यसनी बढिरहेको प्रहरीको भनाइ छ। यसले गर्दा आपराधिक घटनाहरु पनि बढ्दै गइरहेका छन्।
खुला सीमाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्न सजिले हुने र त्यसले झनै विकृति र आपराधिक क्रियाकलापहरु बढ्नलाई मद्दत गरिरहेको प्रहरीको दाबी छ। खुला सीमानाका कारण सुगम बनाउनेभन्दा पनि जटिलता झनै बढी देखिएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।
उनले खुला सीमाका कारण मधेसका जिल्लाहरुमा अपराध थपिँदै गएको र युवाहरु लागुऔषध लगायतको कुलतमा समेत फस्ने क्रम बढीरहेको बताए। मधेस प्रदेश लागुऔषध दुव्र्यसनी र कारोबारीहरुका लागि हबका रुपमा परिणत भइरहेको प्रहरीको तथ्यांकले नै देखाउने गरेको छ। गत माघ १२ गते जनकपुरधामबाट प्रहरीले ठूलो परिणामसहित लागुऔषध नियन्त्रणमा लिएको थियो। जनकपुरधामबाट लागुऔषधसहित ४ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो। यसअघि पुस २१ गते धनुषामा नगरपालिका वडा नम्बर ६ मा २ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो। प्रहरी नायव उपरीक्षक क्षेत्रीले समाजमा लागुऔषधमा फसेको छ भन्नलाई परिवारले नै हिच्किचाउने र समयमा नै आवश्यक उपचार नगर्दा किशोरकिशोरीहरु कुलतमा झनै फस्न थालेको बताए।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा लागुऔषधका ७५ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै लागुऔषध दुव्र्यसनमा संलग्न र लागुऔषध कारोबामा संलग्न १ सय ५ जनालाई नियन्त्रणमा समेत लिएको छ।
आव २०७७-७८ मा लागुऔषधअन्तर्गत ७ सय १४ मुद्दा दर्ता भएका थिए भने ९ सय ९९ जनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यस्तै आव २०७८-७९ मा ९ सय २२ वटा मुद्दा दर्ता भएका थिए भने १ हजार २ सय ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। मधेस प्रदेशमा लागुऔषधको उपलब्धता सहज रहेकाले नै लागुऔषध दुव्र्यसनीहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको लागुऔषध दुव्र्यसनी बिरुद्धको अभियानमा सहभागी हुँदै आएका स्पर्श नेपालका नवीन मल्लिक बताउँछन्। उनले लागुऔषधमा फसिसकेकालाई समयमै उपचार गर्ने हो भने ठीक हुने भए पनि लागुऔषधको सेवा गर्ने बित्तिकै समाजमा बिग्रियो भन्ने मानसिकता रहेकाले समस्या आएको उल्लेख गरे।
त्यस्तै,सीमापारिबाट मधेसका शहरसम्म लागुऔषध ल्याउने र अर्को समूह त्यहाँबाट पहाडी जिल्लाका शहरसम्म पुर्याउने र तेस्रो समूहले काठमाडौंलगायत ठूला शहरसम्म पुर्याइ बिक्री वितरण गर्ने गरेको पाएको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण अभियन्ता मनोजकुमार कर्णका अनुसार लागुऔषध सेवनकर्ताहरु प्रायः एकान्त खोज्ने, लागुऔषध किन्नका लागि घरबाट पैसा चोर्ने लगायतका गतिविधिहरु देखाउने गर्दछन्। उनले लागुऔषधको सेवन गर्नेहरुलाई समयमै उपचार गर्नसके समस्याबाट मुक्त हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।