काठमाडौं– नेपालबाट स्थलमार्ग हुँदै भारत पुर्या एर मानव तस्करी गर्न लागेको अवस्थामा १२ जना महिलाको उद्दार गरिएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको विशेष टोलीले १२ नेपाली महिलालाई भारतबाट उद्दार गरेको हो।
गत मंसिर र पुसमा नेपालबाट भारत पुर्याइ त्यहाँबाट दुबई हुँदै भिजिट भिसामा वैदेशिक रोजगारीमा इथोपिया लैजाने प्रलोभन देखाएर मानव तस्करी हुने गरेको सूचना आएपछि ब्युरोको विशेष टोलीले अनुसन्धान सुरु गरेको थियो।
ब्युरो, दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी, भारतीय सामाजिक संस्था हेल्प क्रस इन्डिया र नेपालस्थित शान्ति पुनस्थार्पना गृहको सहकार्यमा १२ नेपाली महिलालाई माघ १९ गते उद्दार गरी भारतबाट काठमाडौं ल्याइएको ब्युरोका प्रमुख तथा एसएसपी जीवन श्रेष्ठले बताए।
नेपालबाट भारत पुर्याएर त्यहाँबाट भिजिट भिसामा इथोपिया लैजाने भन्दै मानव तस्करी गर्न लागिएको अवस्थामा उनीहरुलाई उद्दार गरिएको हो। नेपाली र भारतीय मानव तस्कर गिरोहको मिलेमतोमा नेपाली महिलालाई इथोपिया भनेर कुवेत र ओमानमा पुर्याएर बेचबिखन हुने गरेको पाइएको एसएसपी श्रेष्ठले बताए। उद्दार गरिएका मध्ये अधिकांशको उमेर २० देखि ४१ वर्षसम्मको रहेको छ।
मानव तस्कर गिरोहले विशेषगरी जोगवनी, काँकडभिट्टा, जमुनाह र सुनौली नाका प्रयोग गरेर नेपालबाट भारतमा नेपाली महिलाहरु लैजाने गरेको खुलेको छ। गरिब र अशिक्षित महिलाहरुलाई लक्षित गरी उनीहरुले प्रलोभनमा पार्ने गरेको देखिन्छ।
इथोपिया जानका लागि चाहिने खर्चसमेत सबै तस्करको गिरोहले नै व्यहोर्ने गरेको खुलेको छ। त्यहाँ पुगेपछि राम्रो कमाई हुने भएकाले पछि कमाएर तिर्नु भन्दै प्रलोभनमा पार्ने गरेको अनुसन्धानबाट खुलेको छ। नेपाली महिला तस्करीमा संलग्न गिरोहका सदस्यको भने प्रहरीले खोजी गरिरहेको छ। उनीहरुलाई पक्राउ गरिएपछि मानव बेचबिखन तथा ओसारपसार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
१९ दिनमा ब्युरोले गर्यो १८ महिलाको उद्धार
पछिल्लो १९ दिनमा मात्रै ब्युरोले १९ महिलाको उद्धार गरेको छ। ब्युरो प्रमुखको रुपमा सरुवा भएर आएपछि एसएसपी श्रेष्ठले पछिल्लो १९ दिनमा मात्रै १८ महिलाको उद्दार गरिएको बताए।
माघ २ गते मात्रै कुवेतबाट ३ नेपाली महिलाको उद्धार गरिएको थियो। सोही दिन इराकबाट समेत १ जना महिलाको उद्धार गरिएको ब्युरोको तथ्यांक छ।
त्यस्तै माघ ४ गते ओमानबाट १ महिलालाई उद्धार गरी नेपाल ल्याइएको छ। माघ ७ गते नै ओमनबाट १ जनालाई उद्धार गरिएको छ भने माघ १९ गते भारतबाट १९ जनालाई उद्दार गरिएको छ।
त्यसैगरी ब्युरो स्थापना भएदेखि हालसम्म महिला र पुरुष गरेर ४४३ जनाको उद्धार गरिएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।