काठमाडौं– तान्त्रिक बाबाका लागि भन्दै १६ वर्षकी १ जना नेपाली बालिकालाई भारतमा लगेर बेचेको खुलेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले यो प्रकरणमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत मंसिर १७ गते आफ्नो मामाघरबाट सम्पर्कविहीन भएकी ती बालिकाको खोजीका लागि भन्दै आफन्तले पुस ६ गते स्थानीय प्रहरी कार्यालयमा निवेदन दिएका थिए। बालिका बेचबिखनमा परेको आशंकाका आधारमा स्थानीय प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई खबर गरेको थियो।
ब्यूरोबाट अनुसन्धानका क्रममा बालिकालाई नेपालबाट भारतको दिल्ली लगिएको भन्ने खुलेको थियो। भारतस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतको किन इन्डिया नामक संस्थासँग समन्वय गर्दा ती बालिका दिल्ली रनहोला क्षेत्रमा भेटिएको भन्ने तथ्य पत्ता लागेको थियो।
मानव बेचबिखन अनुसन्धान ब्यूरो समेतको टोलीले मंगलबार रनहोलाअन्तर्गत बापरुल्ला क्षेत्रको गली नम्बर २ बाट उद्धार गरेको हो।
प्रहरीका अनुसार भारतका केही बाबाहरुले महिनावारी नभएकी, शरीरमा कुनै खत तथा दाग नभएकी बालिका चाहिएको भनेपछि दलालहरुले ती बालिकालाई प्रलोभनमा पारेका थिए।
भारतमा पुगेर बाबालाई भेटाइदिने र बाबा खुसी हुँदा अथाह पैसा पाइने भन्दै ती बालिकालाई प्रलोभनमा पारिएको थियो।
प्रहरी अनुसन्धानबाट खुलेअनुसार ती बालिकालाई मंसिर १७ गते काठमाडौं ल्याइ पुस १९ गतेसम्म काठमाडौंमा बन्धक बनाएर राखिएको थियो। त्यसपछि नेपाल–भारत नाका सुनौली हुँदै पुस २२ गते भारतको नयाँ दिल्ली, पहाडगञ्जमा पुर्याइएको थियो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरिको जनाएको छ। पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन। उद्धार गरिएकी बालिकालाई भने सामाजिक संस्थाको जिम्मा लगाइएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।