काठमाडौं– ७५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा सहभागी हुन श्रीलंका जान लागेकी परराष्ट्रमन्त्री बिमला राई पौड्यालले साइडलाइन भेटमा सार्क मुलुकका विदेशमन्त्री समक्ष सार्क संगठनमा देखिएको समस्याबारे छलफल गर्ने तयारी गरेकी छिन्।
श्रीलंकाले स्वतन्त्रता दिवसको अवसरमा छिमेकी मुलुकका विशिष्ठ अतिथिलाई आमन्त्रण गरेको हो। सोही आमन्त्रणलाई स्वीकार्दै मन्त्री पौड्याल बिहीबार श्रीलंका प्रस्थान गर्नेछिन्।
उक्त भ्रमणबारे बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा मन्त्री पाैड्यालले उक्त कुरा बताएकी हुन्।
साेहीबीचमा दक्षिण एसियाका विदेशमन्त्रीहरुसँग साइडलाइनमा भेट पनि गर्ने कार्यक्रम रहेको छ, त्यो टुङ्गो छैन। मौका मिले सार्कमा देखिएका समस्याबारे छलफल गर्छौँ,’ मन्त्री पाैड्यालले भनिन्।
सार्क संगठनको सन् २०१४ मा नेपालमा भएको १८ औँ शिखर सम्मेलनपछि सन् २०१६ मा पाकिस्तानमा हुने सम्मेलन हुन सकेको छैन। भारत र पाकिस्तानको द्वन्द्वका कारण सार्क अनिर्णीत बनेको छ।
उक्त भ्रमणमा मन्त्री पौड्यालले समकक्षी अलि स्याब्रीदेखि प्रधानमन्त्री र राष्ट्रपतिलगायत उच्च तहको भेट गर्नेछिन्। श्रीलंकाले आफ्नो ७५ औँ स्वतन्त्रता दिवस आउँदो शनिबार मनाउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।