काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मन्त्रालयमा थाती रहेका विधेयकहरू तत्काल संसद्मा पेस गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई यस्तो निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जानकारी दिए।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले संसद्लाई बिजनेश दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारे।
मन्त्री किरातीले यस विषयमा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरूबीच छलफल गरिएको जानकारी दिए।
‘भर्खरै हामीले सम्पन्न गरेको क्याबिनेट बैठकमा संसद्लाई बिजनेश दिने सन्दर्भमा आ–आफ्नो मन्त्रालयमा परेको विधेयकलाई तपाईंहरूले छिटोभन्दा छिटो पठाउनु भनेर प्रधानमन्त्रीले निर्देशन गर्नु भएको छ। त्यसमा हामी सबै लागि राखेका छौं’, उनले भने, ‘आज पनि हाम्रो प्रधानमन्त्री कार्यालयमा खासखास मन्त्रालय र मन्त्रालयका सचिवहरूको बैठक बसेर सो विषयमा छलफल गरिएको छ। रोकिएको विधेयकलाई छिट्टै अघि बढाउनुहोस् भन्नु भएको छ।’
मन्त्री किरातीले संसद्लाई बिजनेश समेत दिनुपर्ने भएकाले सबै मन्त्रालयहरूले आ–आफ्नो मन्त्रालयमा थाती रहेका विधेयकलाई अघि बढाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।