काठमाडौं– नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले जनक शिक्षा सामग्री केन्द्र परिसरमा बिरोध प्रदर्शन गरेको छ।
बुधबार जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियूका विद्यार्थी नेताहरु भेला भइ बिरोध जनाएका हुन्। उनीहरुले जनक शिक्षा सामग्री जनताको आशाको केन्द्र बन्नुपर्ने भएपनि त्यो हुन नसकेको बताए।
उनीहरुले जनक शिक्षामा भएको बेथितिमा अनेरास्ववियू र विद्यार्थीहरु चुप लागेर बस्न नसक्ने चेतावनी दिए। कार्यक्रममा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचारीलाई नेपाल सरकारले कारबाही नगरे घरको ढोका तोड्न पुग्ने चेतावनी दिए।
उनले जनक शिक्षा सामग्रीका प्रबन्ध निर्देशक भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। पराजुलीले गरिब जनताका छोराछोरीलाई पाठ्यपुस्तक नदिएर जनताका छोराछोरी मार्ने काम गरिएको टिप्पणी गरे।
उनले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरूप्रति आन्दोलन केन्द्रित रहेको बताए। अध्यक्ष पराजुलीले विद्यार्थीको मौलिक अधिकारलाई वञ्चित गर्ने काम गर्ने कुरा आफूहरुलाई अमान्य रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।