फाइल तस्बिर।
काठमाडौं- सभामुख देवराज घिमिरेले निर्वाचन क्षेत्र चितवन- २ रिक्त रहेको जानकारी गराएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा उनले सो जानकारी गराएका हुन्।
‘नेपालको संविधानको धारा ८९ को खण्ड ख बमोजिम रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१२ को उपनियम १ बमोजिम माननीय सदस्यहरुलाई जानकारी गराउँछु’, घिमिरेले भने।
गत शुक्रबार सर्वोच्च अदातलको संवैधानिक इजलासले सांसद लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गरेको थियो। जसका कारण उनले मन्त्री, सांसद र पार्टी सभापति जस्ता पद गुमाएका थिए।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा लामिछाने चितवन- २ बाट निर्वाचित भएका थिए। उनी उच्च मतान्तरसहित विजयी भएका थिए।
त्यहाँ लामिछानेले ४९ हजार ३०० मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।