काठमाडौं- जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले हालै आत्मदाह गरेका उद्यमी प्रेम आचार्यप्रति कसैले चिन्ता नगरेको भन्दै सदनमा असन्तुष्टि जनाएका छन्। बुधबारको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले सदनलाई मुर्दाको रुपमा चित्रित गरे।
'मलाई लाग्थ्यो, आज यो सदनभित्र विशेष प्रस्ताव आउला, के कति कारणले प्रेम आचार्यले आत्मदाह गर्न बाध्य भए, त्यसको बारेमा चर्चा होला। तर आज यो सदन मुर्दाको रुपमा स्थापित भएको छ। प्रेम आचार्यको बारेमा कसैको चिन्ता भएन। चासो भएन। हामी अर्कै गाथा र अर्कै गीत गाइरहेका छौँ', उनले भने।
उनले यो हप्ता, दश दिनदेखि राष्ट्रिय राजनीतिमा भएका घटनाको बारेमा सोच्दा आफूहरुलाई जनप्रतिनिधि हौँ भन्न लज्जाबोध भएको बताए।
त्यस्तै, सप्तरीका रामदेव मरिकको आत्महत्याको विषय पनि उनले उठाए। 'सप्तरी निवासी सामाजिक रुपमा पिँधमा रहेको, दलितको पनि महादलित रामदेव मरिक छोरोको बिहेमा लिएको ऋण तिर्न नसक्दा आफ्नो नाक जोगाउनका लागि, आफ्नो इज्जत जोगाउनका लागि आत्महत्या गर्छ। हामी यहाँ ठूलाठूला गफ गर्छौँ। तर रामदेव मरिकको बारेमा चर्चा गर्ने हामीमा संवेदनशीलता र जिम्मेवारीपना देखिएन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।