पूर्व कप्तान ज्ञानेन्द्र मल्ल
काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुको ग्रेडिङ गेको छ। पोखरामा बसेको क्यान कार्यसमिति (बोर्ड) बैठकले पुरुष टोलीका १८ र महिला टोलीका १२ जना खेलाडीको ग्रेडिङ गरी ६ महिनाका लागि करारमा राख्ने निर्णय गरेको हो।
क्यानले ग्रेड ए, ग्रेड बी र ग्रेड सी गरी खेलाडीहरुको ग्रेडिङ गरेको छ। पुरुष टोलीतर्फ ‘ए’ ग्रेडमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन्। यस्तै ‘बी’ ग्रेडमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन्।
‘सी’ ग्रेडमा कमल सिंह ऐरी, विनोद भण्डारी, गुलशन कुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्।
महिलातर्फ ग्रेड ‘ए’मा रुविना क्षत्री, सीता राना मगर र इन्दु बर्मा छन्। ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन्। यस्तै, ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन्।
क्यान बैठकले राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय समेत गरेको छ। नाबालिका बलात्कारको अभियोग लागेपछि निलम्बनमा परेका लामिछाने हालै उच्च अदालत पाटनको आदेशपछि २० लाख धरौटी तिरेर थुनामुक्त भएका थिए। सन्दीपको निलम्बन फुकुवा गरे पनि क्यानले उनलाई करारमा भने राखेको छैन।
क्यानको बोर्ड बैठक मंगलबार पोखरामा बसेको थियो। बैठकले विभिन्न विषयमा १३ वटा निर्णयहरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।