काठमाडौं– नेपाल पेयपदार्थ तथा चुरोट उद्योग संघले पछिल्लो समय मदिराजन्य पदार्थको अवैध उत्पादन र कारोबार बढेको भन्दै दोषीलाई कारबाही गर्न आग्रह गरेको छ।
संघका अध्यक्ष रमेश श्रेष्ठले अवैध कारोबारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्। पछिल्लो समय राजधानीका विभिन्न ठाउँबाट नक्कली विदेशी मदिरा उत्पादन र बिक्री गरेका घटना सार्वजनिक भइरहेका छन्। दुई दिनअघि मात्रै ललितपुरमा यस्ता मदिरा उत्पादनमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने ठूलो परिमाणमा नक्कली मदिरा बरामद गरेको थियो।
मदिरा उत्पादन गर्दा उत्पादकले सम्बन्धित निकायबाट लाइसेन्स लिई नेपाल सरकारले तोकेको मापदण्डअनुसार ल्याब परीक्षण गरी स्वीकृति प्राप्त गरेर मात्र गर्नुपर्ने एवं बिक्री गर्दा समेत अनुमति पत्र लिएकाले मात्र बिक्री गर्न पाउने कानुनी प्रावधान छ।
अवैध मदिराको उत्पादन एवं बिक्रि वितरणबाट सरकारको राजस्वमा असर पर्नुका साथै यस किसिमका अवैध मदिराको आयात, उत्पादन, बिक्रीवितरण एवं उपभोगले देशको राजस्व, कानुनबमोजिम स्थापित उद्योगहरुको व्यावसायिक ख्याति, सृजित रोजगारी एवं जनस्वास्थ्यमा समेत गम्भीर असर पर्न जाने तथ्य प्रति सचेत रहन संघले सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।