काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छन्।
मंगलबार औषधि व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। फर्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनुभन्दा अघि डीडीएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको राज्यमन्त्री कार्कीले बताइन्।
उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरुको आफूखुशी प्रयोग हुने र औषधिहरु पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताइन्।
नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै 'कम्प्रमाइज' गर्नु नहुने उनले बताइन्। उनले देशभित्रै उत्पादन हुने प्रबल सम्भावना रहेका औषधिहरु सम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गरिन्।
राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्ने कुरा अत्यधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुने धारणा राखिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।