काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को परीक्षा (एसईई) तालिका सार्वजनिक गरिसकेको छ। बोर्डको यही माघ ११ गतेको निर्णय अनुसार आगामी चैत १६ गतेदेखि एसईई हुनेछ।
तर, कतिपय विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक अझै नपुगेको गुनासा आइरहेका छन्। उक्त गुनासोबारे जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरले चासो लिएको छ। उसले कक्षा १० को पाठ्यपुस्तक नपाएको भए केन्द्र र प्रदेश कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
केन्द्रले एक सूचना जारी गर्दै विद्यार्थीहरुले अझै पाठ्यपुस्तक नपाएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केन्द्रले शैक्षिक सत्र २०७९ का लागि आवश्यक कक्षा १० सम्मका पाठ्यपुस्तक छपाई गरि सम्बन्धित कार्यालयमार्फत पठाइसकेको दाबी गरेको छ।
कथमकदाचित विद्यालयहरुमा पाठ्यपुस्तक नपुगेको र विद्यार्थीहरुले नपाएको भए तुरुन्त केन्द्र र प्रादेशिक कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
त्यसैगरी, कक्षा ११ र १२ का पुस्तकहरु अभाव भएको गुनासो प्राप्त भएको उल्लेख गर्दै पुस्तकहरु केन्द्र तथा प्रादेशिक कार्यालयहरुमा मौजाद रहेको हुँदा विक्रेता तथा विद्यार्थीहरुले सम्पर्क राखि खरिद गर्न समेत अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।