काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी श्रमलाई शून्यमा पुर्याउन पहल गर्ने गरी काम गर्ने बताएका छन्।
आइतबार मन्त्रालयमा बाध्यकारी श्रमसम्बन्धी प्रोटोकल भएको २०१४ को अनुमोदन र बाध्यकारी श्रम उन्मुलनका लागि एकीकृत कानुनको आवश्यकतासम्बन्धी संघीय सांसद र सरोकारवालाहरुसँगको छलफलमा उनले सो कुरा बताएका हुन्।
उनले अहिले बाध्यकारी श्रम निषेध र पुनर्स्थापना गर्नका लागि बनाउन लागिएको विधेयकलाई परिपक्क र प्रभावकारी ढंगले अगाडि बढाउन सबै सरोकारवाला निकायलाई आग्रहसमेत गरेका छन्।
ऐन कानुन, लामो समयसम्म काम गर्ने गरी बनाउनुपर्ने भन्दै उनले भने, ‘एकपटक बनाएको नीति नियम र ऐनले लामो समयसम्म काम गर्नु पर्दछ। ता कि त्यो मन्त्री र सरकारी कर्मचारी फेरिने बित्तिकै फेर्न पर्ने नहोस्। हामीले गर्ने काममा फल्ट नहोस् परिपक्क होस् त्यसको लागि पीडित पक्ष, सरोकारवाला निकायहरुसँग मसिनो गरी छलफल गर्न म तयार छु।’
मन्त्री अर्यालले नेपालमा गरिने यस्ता छलफल र अन्तरक्रिया कार्यक्रमहरु सहर केन्द्रित मात्रै हुने र सम्बन्धित निकायसम्म नपुग्ने भन्दै आफूहरुले त्यो कुरा पनि ध्यान दिनुपर्ने बताएका छन्। उनले बाध्यकारी श्रम गरिरहनु भएका पीडितले पनि अपनत्व महशुस हुनेगरी काम गर्न सरोकारवाला निकायलाई अनुरोध गरेका छन्।
त्यस्तै कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले बाध्यकारी श्रमलाई न्यूनीकरणका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।