काठमाडौं– शनिबार राति इरानको खोए सहरमा गएको ५.९ रेक्टर स्केलको भूकम्पमा परी सात जनाको मृत्यु भएको छ। यस्तै कम्तिमा ८ सयभन्दा बढी मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटर तल रहेको छ।
इरानी न्यूज एजेन्सी आईआरएनएका अनुसार भूकम्पको पराकम्प निकै शक्तिशाली थियो। साथै इरानको पश्चिमी इलाका अजरबैजान प्रान्तका कैयौं क्षेत्रमा महसुस गरिएको थियो।
सामाजिक सञ्जालमा भूकम्पछिको क्षतिका तस्बिर भिडियो भाइरल भइरहेका छन्। स्थानीय सञ्चारमाध्यमले भूकम्पबाट प्रभावित केही क्षेत्रमा हिमपात भइरहेको र त्यहाँको तापक्रम शून्य डिग्री सेल्सीयसभन्दा तल रहेको उल्लेख गरेका छन्।
केही क्षेत्रमा विद्युत् आपूर्ति ठप्प भएको छ। प्रभावित क्षेत्रलाई सामान्य बनाउन उद्धारकर्मीहरु खटाइएको छ।
सन् २०२२ को जुलाई २ मा इरानमा ६ रेक्टर स्केलको भूकम्प गएको थियो। जसलाई छिमेकी देश कतार र यूएईका साथै चीनसम्म महसुस गरिएको थियो। उक्त भूकम्पमा पाँच जनाको मृत्यु हुनुका साथै ४४ जना गम्भिर रुपमा घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।