काठमाडौं– कुसुम थापा मगरलाई प्रत्यक्ष निर्वाचन लड्न मन थियो। त्यसैले, समानुपातिकतर्फ ध्यान दिइनन्। प्रत्यक्ष निर्वाचन लड्नु नै पहिलो प्राथमिकतामा राखेकी थिइन्। दुई पटकसम्म समानुपातिक बन्दसूचीमा नाम थियो।
दुवै पटक अन्तिममा नाम हटाइयो।
निर्वाचनताका तत्कालीन सत्ता गठबन्धनका दलमध्ये रुकुम पूर्वमा कांग्रेस–माओवादीको गठबन्धन थियो। सत्ता समीकरण नै निर्वाचनमा होमिएको थियो। प्रत्यक्षका प्रत्यासी भने कांग्रेसबाट कुसुमसँगै पार्टीका जिल्ला सभापति केशरमान रोक्का थिए।
कांग्रेसले कुसुमलाई प्रत्यक्ष निर्वाचन लडाउन अघि सारेको थियो। यता माओवादीका तर्फबाट तेजबहादुर ओलीलाई अघि सारिएको थियो। सत्ता भागवण्डाका आधारमा माओवादीको भागमा पर्यो। उनले ओलीलाई समर्थन गरिन्। उनी प्रत्यक्ष निर्वाचन लड्नबाट पछि हटिन्।
समानुपातिक उम्मेदवारका लागि पहिलो सूची दलले निर्वाचन आयोगमा पठायो। जसमा कुसुमको नाम थिएन। पार्टीले नै प्रत्यक्ष लडाउने भनेर रोकेको थियो। माओवादीको भागमा परेपछि भने समानुपातिक उम्मेदवार बनेकी हुन्। दोस्रो चरणका लागि दलहरूले अन्तिममा समानुपातिक उम्मेदवारको नाम पठाए। अन्ततः प्रतिनिधि सभा सदस्यमा समानुपातिक प्रणाली तर्फबाट महिला जनजाती क्लस्टरबाट उनी निर्वाचित भइन्।
लाहुरे परिवारमा जन्मेर राजनीति
उनको जन्म २०३१ सालमा पर्वतको महाशिला गाउँपालिका–४ पूर्णगाउँमा भयो। बाल्यकाल गाउँमै बित्यो उनको। बुवा इन्डियन आर्मी। गाउँमा धेरै युवा इन्डियन आर्मीमा भर्ती भएका थिए। पुरुष दौंतरी प्रायः लाहुरेको लहडमा हुन्थे। महिलाहरू भने घरधन्दाबाट बाहिर कहिल्यै निस्केनन्। जेठा दाजु पनि इन्डियन आर्मी भए।
उनको परिवारमा भने छोरी पनि शिक्षित हुन पाए। बहिनी अहिले पोखरामा शैक्षिक क्षेत्रमा आबद्ध छिन्। ‘परिवारमा शिक्षित भएकै कारण छोरीहरू सजिलै बाहिर निस्के’, उनी भन्छिन्।
कुसुम जन्मिँदा बुवा भक्त बहादुर थापा मगर रिटायर्ड भइसकेका थिए। पूर्णले गाउँमै पेन्सनबाट आएको पैसाले विद्यालय खोले। आफनै बुवाले खोलेको विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरिन् कुसुमले।
पहिला विद्यालयले ७ कक्षासम्म अनुमति पाएको थियो। ७ कक्षापछि उनले जनविकास मावीमा अध्ययन गरिन्। स्नातक भने पोखरामा रहेको पृथ्वीनारायण क्याम्पसबाट गरिन्। ग्रामीण विकास र राजनीतिशास्त्र लिएर अध्ययन गरेकी उनले स्नातकत्तोर त्रिभुवन विश्वविद्यालयबाट गरिन्।
विद्यार्थी राजनीति हुँदै सांसद
उनको विवाह ०६५ सालमा भयो। राजनीतिक कार्यक्रमका क्रममा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका रास बुढासँग भेट भयो। त्यही भेट नै पछि विवाहमा परिणत भयो। राजनीतिक यात्रा भने ०४८ सालको निर्वाचनबाट सुरु भयो।
कांग्रेसका तर्फबाट उमा रेग्मी पर्वतबाट उम्मेदवार उठेकी थिइन्। सक्रिय राजनीति नभए पनि कहीँ न कहीँ कांग्रेसतर्फ झुकाव भयो। किशोरावस्थामा नै चुनावमा भोट माग्न आइन्। सदस्यता थिएन्। उनी भन्छिन्, ‘उमाजीलाई चुनाव अवधिभर भोट माग्न गएको थिएँ।’
०५२ सालमा नेविसंघको विराटनगरमा महाधिवेशन भयो। उनको राजनीतिक यात्रा भने विद्यार्थीकालबाट भएको हो। उनी पर्वत जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएर आइन्। पार्टीको क्रियाशील सदस्यता त्यतिबेलै लिइन्।
राजनीतिसँगै शिक्षण पेसा अपनाइन्। छोटो समय अस्थाई शिक्षक भएर अध्यापन गराइन्। पछि ०५३ मा पृथ्वीनारायाण क्याम्पसमा स्ववियूको सदस्यमा लडिन्। तर पराजित भइन्। ०५४ मा कोषाध्यक्षमा लडिन्। फेरि पराजित भइन्। दलभित्र भएका निर्वाचनमा धेरै पटक पराजित भएको अनुभव उनीसँग छ।
त्रिविमा आएर नेविसंघको केन्द्रीय सदस्य भइन्। कांग्रेसको जनवर्गीय संगठनमा आवद्ध भइन्। उनी नेपाल राष्ट्रिय मगर संघमा संस्थापक सदस्य भइन्। पछि केन्द्रीय उपाध्यक्ष भएर काम गरेको अनुभव छ उनको। महिला संघको कोषाध्यक्षमा पनि लडिन्। १४औँ महाधिवेशनमा कुसुम र श्रीमान् रास दुवै जना प्रतिनिधि भएर आएका थिए। केन्द्रीय सदस्यमा उम्मेदवार बनिन्। तर पराजित भइन्। हाल महासमिति सदस्य रहेकी छन्।
दोस्रो प्रयासमा सफलता
०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो। ०६३को अन्तरिम संविधान बमोजिम समानुपातिक प्रणालीको अबलम्बन गरियो। त्यसैका कारण उनी ०७० मा समानुपातिक उम्मेदवार बनिन्। उनको नाम समानुपातिक सुचीमा बन्दसूचीमा थियो। अन्तिममा उनको नाम हटाइयो। त्यो बेला भने पार्टीमा रहेका सिनियरलाई प्राथमिकता दिइएको भन्ने लाग्यो।
त्यसपछि ०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनको नाम समानुपातिक प्रणालीमा थियो। बन्दसूचीसम्म परेको थियो उनको नाम।
अन्तिममा आएर हटाइयो। प्रतिनिधिसभामा जानैका लागि उनले स्थानीय तहमा जनप्रतिधिको उम्मेदवार बन्न तयार भइनन्। ‘मेरो इच्छा कानुन निर्माण तहमा जानु थियो’, उनले भनिन्।
समानुपातिक भनेको सिमान्तकृत वर्गको प्रतिनिधित्व गर्ने व्यवस्था हो। पटक पटक बन्दसूचीबाट हटाउँदा मन खिन्न भयो। ‘समानुपातिक कतै पार्टीमा पैसा खर्च गर्न सक्नेका लागि हो कि भन्ने शंका उब्जियो’, उनी भन्छिन्।
भर्खरै सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा उनी सांसद बनेकी छन्। उनी समानुपातिक प्रणालीबाट महिला जनजाति क्लस्टरमा परेकी थिइन्। जनजातीको ७ नम्बर थियो। दोस्रो प्रयासपछि उनी सफल भइन्। तीन दशकदेखि पार्टीमा गरेको योगदानको कदर भएको बताएकी छन्।
रुकुमपूर्वको आवाजको प्रतिनिधित्व गर्ने
रुकुम पूर्व हिमाली जिल्ला हो। जुन भौगोलिक दृष्टिकोणले अप्ठयारो छ। स्वास्थ्य, शिक्षा, यातायात जस्ता पूर्वाधारका विकासमा पछाडि परेको छ। उनका अनुसार चुनावी मैदानमा जाँदै गर्दा विकास बाहेक जनताको कुनै माग नरहेको बताएकी छन्।
उनी भन्छिन्, ‘मेरो प्रतिबद्धता भनेको आफ्नो निर्वाचन क्षेत्र विकासका लागि पहल गर्नु हो।’
उनी संसदमा समसामायिक मुद्दामाथि बोल्ने बताउँछिन्। रुकुम पूर्वको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता छ उनको। दुर दराजमा राज्यको उपस्थिति छैन।
रुकुम पूर्वमा जडिबुटीको प्रचुर सम्भावना छ। राज्यको आँखा नपुगेर पछाडि परेको छ। रुकुम डोल्पासँग जोडिएको छ। संसदमा कुसुम नयाँ अनुहार हुन्। उनी अब पूर्व रुकुममा भएका हरेक समस्यासँग साझेदार बन्ने बताउँछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।