कैलाली – मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ठूला तीन दलले उम्मेदवारहरुको नाम आ–आफ्ना केन्द्रमा सिफारिस गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्ना दलका आकांक्षी उम्मेदवारको नाम केन्द्रमा पठाएका छन्।
कैलालीमा प्रतिनिधिसभाका लागि ५ क्षेत्र तथा प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र छन् । कांग्रेस कैलालीले प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तथा समानुपातिकतर्फ आरजु राणा देउवासहित दुई सय ४५ जनाको नाम सिफारिस गरेको छ । राणालाई प्रत्यक्षतर्फ क्षेत्र नम्बर ५ बाट सिफारिस गरिएको छ । सो क्षेत्रबाट कांग्रेसले सांसद पुष्करनाथ ओझा र प्यारेलाल राना, सुनील भण्डारी लगायतको नाम सिफारिस गरेको छ।
त्यस्तै, क्षेत्र नम्बर १ बाट ईश्वरी न्यौपाने, चन्द्रसिंह भट्टराई, नारायणदत्त मिश्र, डा रणबहादुर रावल, बुद्धिसागर चौधरी, सुशीला स्वाँर, फकिरसिंह कडायत लगायतलाई सिफारिस गरेको छ। क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ कमलबहादुर शाह, विजयबहादुर स्वाँर र हिमबहादुर रावलको नाम सिफारिस गरिएको छ । यस्तै, क्षेत्र नम्बर ३ बाट खेमराज डगौरा थारु, गोविन्दराज जोशी, मोहनराज मल्ल लगायतको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सुनीलकुमार भण्डारी, डा लक्ष्मीराज पाठक, प्रकाशबहादुर बम, हीरादत्त भट्ट र प्रदीप जोशीको नाम सिफारिस गरिएको छ।
नेकपा एमाले कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मतिले नाम सिफारिस गरेको छ।
एमाले कैलालीको बैठकले प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य गरिमा शाह, क्षेत्र नम्बर २ बाट जिल्ला इञ्चार्ज झपट रावल, क्षेत्र नम्बर ३ बाट कार्यालय सचिव विमल जोशी, क्षेत्र नम्बर ४ बाट पार्टी जिल्ला अध्यक्ष दीर्घ सोडारी र क्षेत्र नम्बर ५ बाट नारदमुनि राना तथा रणबहादुर चन्दको नाम सिफारिस गरेको छ।
एमालेले क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष भीम रावलको नाम पनि प्रदेश समितिमा सिफारिस गरेको जनाइएको छ । उपाध्यक्ष रावल अछाम क्षेत्र नम्बर १ बाट पनि सिफारिस भएका छन्।
एमाले उपाध्यक्ष रावल अछाम क्षेत्र नम्बर १ बाट पनि सर्वसम्मत भएका छन् । रावलले अछामबाट प्रतिनिधि सभामा चुनाव लड्ने इच्छा देखाएकाले कैलाली क्षेत्र नम्बर २ बाट लड्ने सम्भावना न्यून छ।
त्यस्तै, माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यका लागि कैलालीको क्षेत्र नम्बर १ बाट हरि ज्ञवाली, २ बाट रंगनाथ ढकाल, ३ बाट गौरीशंकर थारु तथा वीरभान चौधरी, ४ बाट लेखराज भट्ट र ५ बाट हरिराम चौधरीको नाम सिफारिस गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।