काठमाडौं- सम्यक डायग्नोस्टिक प्रालिले बूढानीलकण्ठमा आफ्नो शाखा विस्तार गरेको छ। सम्यकले सोमबार औपचारिक रुपमा बूढानीलकण्ठमा रहेको शाखाबाट सेवा सुरु गरेको हो।
योसँगै सम्यकको सेवा अब जावलाखेल, मध्यबानेश्वर, गठ्ठाघरसहित बूढानीलकण्ठमा समेत विस्तार भएको छ। बूढानीलकण्ठमा पहिलो चरणमा नमूना संकलन शाखा स्थापना गरिएको हो।
बूढानीलकण्ठको शाखाबाट बिहान रगत, दिसा पिसाबको नमूना संकलन गरेर जावलाखेलको प्रयोगशालामा नै पठाइने र मोबाइल तथा अनलाइनमार्फत रिपोर्ट उपलब्ध गराइने सम्यकका अध्यक्ष डा केयूर गौतमले जानकारी दिए।
‘बूढानीलकण्ठ क्षेत्रका मानिसहरुका लागि लक्षित गरेर शाखा विस्तार गरेका हौं’, उनले भने, ‘यो क्षेत्रका मानिसहरुले गुणस्तरीय प्रयोगशालाको खोजीमा धेरै टाढा जान नपरोस् भनेर शाखा स्थापना गरेका हौं।’
उनले नागरिकको चाहना अनुसार शाखामा सेवा थप गर्दै लगिने जानकारी दिए। सम्यक डाइग्नोस्टिक अन्तर्राष्ट्रिय मान्यता आईएसओ १५१८९ पाउने नेपालको पहिलो प्याथोलोजी प्रयोगशाला हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।