काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्नसके नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताएका छन्।
सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि एसएमई क्षेत्रको विकास राम्रोसँग हुन नसकेको गुनासो गरे।
निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने नभइ आफ्नो तर्फबाट पनि आवश्यक पहल गर्न जरुरी रहेको ढकालको भनाइ छ। उनले वर्तमान सरकार आएपछि बजारमा सकारात्मक रुपमा तरलताको समस्या समाधान हुँदै गइरहेको बताए।
‘एसएमई, जहाँ धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि यसको विकास राम्रोसँग हुन सकेको छैन। एसएमईको विकासले एलडीसी ग्रेजुएशनमा सहयोग गर्नेछ,’ ढकालले भने, ‘निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने र हाम्रो तर्फबाट जिम्मेवारी निभाउन नसके समयमा कार्यान्वयन हुन सक्दैन।’
वरिष्ठ उपाध्यक्ष ढकालले वर्तमान सरकारले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक काम अघि बढाउने कुरामा आफूहरु विश्वस्त रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।