काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरुको पहुँच विस्तार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार ललितपुरका महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरुको पहुँच विस्तार गरी तिनै तहका उद्योगहरुले लघु,साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताए।
गत आर्थिक वर्षमा ३०९ ठूला उद्योगहरु र ६५ हजार ६९ एसएमइ उद्योगहरु दर्ता भएकाले यो संख्या अझै बढ्नसक्ने उनको भनाइ छ। उनले साना, ठूला सबै उद्योगको क्षमता अहिले करिब ६० प्रतिशतले घटेको जानकारी दिए। बैंकहरुको महंगो ब्याजले लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौती भइरहेको उनले बताए।
साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने उनको माग छ। यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न आग्रह गरे।
उनले करिब ५० प्रतिशत उद्योगहरु दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग आग्रह गरे। कतिपय उद्योगहरु झमेलामा पर्ने डरका कारण पनि दर्ता नभएको भन्दै कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी रहेको उनले गुनासो गरे।
अध्यक्ष गोल्छाले आधुनिक प्रविधि प्रयोग गरेर बजारको माग अनुसार गुणस्तरीय वस्तु उत्पादन गर्नसके नेपाललाई एसएमइ उद्योगबाट ठूलो आर्थिक उन्नति गर्न सकिने सम्भावना रहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।