काठमाडौं– उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताएका छन्।
सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। अर्थमन्त्री पौडेलले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तीब्रताका लागि आफूहरु लागेको बताए।
मन्त्री पौडेलले महङ्गो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच भएपनि ब्याजदर र मुद्रास्फितिको सम्बन्ध हुने बताए। अर्थमन्त्री पौडेलले निजी क्षेत्रले वित्तीय क्षेत्रमा पहुँचको माग गरेको भन्दै त्यसमा भएका कमीहरु र समाधानका उपायहरु सरकारलाई दिन आग्रह गरे। उनले राष्ट्र बैंक स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था भएकाले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसाबले हस्तक्षेप नगर्ने बताए।
‘वित्तीय क्षेत्रमा पहुँचको कुरा गर्नुभएको छ, कस्तो कमी र कस्तो समाधान हो? त्यस हिसाबमा पनि सुझाव दिनुहुनेछ। ब्याजदर महङ्गो भयो भन्ने चर्चा छ, ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फिर्तीसँग जोडिएको छ, त्यसैले हामीले मुद्रास्फिति र महंगीलाई नियन्त्रण गर्दै महंगो ब्याजदरलाई पनि सीमाभित्र राख्नका लागि पहल गर्नुपर्छ भन्ने वर्तमान सरकारको सोच हो,’ पौडेलले भने, ‘राष्ट्र बैंक आफैँ स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था हो। त्यसले आफ्ना विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ। राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसाबले हस्तक्षेप गर्दैन।’
अर्थमन्त्री पौडेलले लघु तथा घरेलु, साना र मझौला उद्योगको क्षेत्रलाई प्रवर्द्धन गर्ने र यस क्षेत्रका समस्या कसरी समाधान गर्ने भन्ने सार्थक उपाय खोज्नुपर्ने बताए। उनले वर्तमान सरकार कुनैपनि नीति बनाउँदा र निर्णय गर्दा सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै निर्णय गर्ने पक्षमा रहेको बताए।
‘आकारमा सानो, तर योगदानमा ठूलो यो क्षेत्र लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवर्द्धन गर्नसक्छौँ। यो क्षेत्रका समस्या कसरी सम्बोधन गर्नसक्छौँ र सबैभन्दा सार्थक उपाय हामी खोज्नसक्छौँ। त्यो धेरै महत्त्वपूर्ण छ,’ पौडेलले भने।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रका कतिपय मागहरु सरकारले सम्बोधन गर्ने काम सुरु भइसकेको बताए। उनले कर बुझाउन जाँदा दुःख बेहोर्नुपरेको अवस्थाको गुनासोलाई अब सरकारले सम्बोधन गर्नेपनि विश्वास व्यक्त गरे। उनले कर्मचारीहरुले कर बुझाउन जाँदा दिएका झन्झटहरुको बारेमा मन्त्रालयलाई जानकारी गराउन समेत निजी क्षेत्रसँग आग्रह गरे।
‘पछिल्ला दिनहरुमा निजी क्षेत्रका कतिपय मागहरु पूरा हुँदै गइरहेका छन्, कतिपय संकेतहरु यहाँहरुले पनि अनुभूत गर्नुभएको होला। निजी क्षेत्रका सरोकारहरुलाई सम्बोधन गर्ने क्रम सुरु भइरहेका छन्,’ पौडेलले भने, ‘आउने दिनमा परिस्थितिलाई अनुकूल बनाउँदै निजी क्षेत्रका मागहरु सुन्ने सन्दर्भमा अरु प्रयासहरु हुँदै जानेछ। कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको अवस्थाको गुनासो गर्नुभएको छ, कहाँ कसले कस्तो प्रकृतिको गल्ती गरेको छ, त्यसका बारेमा अर्थ मन्त्रालयको नेतृत्वलाई जानकारी दिनुहोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।