काठमाडौं– बुद्ध एअरले पहिलो व्यावसायिक उडान थालेको बिचक्राफ्ट बिक्री गरेको छ। बुद्धले बिचक्राफ्ट ’बी १९०० डी’ जहाजबाट उडान सुरू गरेको थियो।
उडान सुरू गरेको २५ वर्षपछि कम्पनीले जहाज बिक्री गरेको हो। बुद्धले १९९७ अक्टोबर ११ मा यही जहाजमार्फत् पहिलो व्यवसायिक उडान सुरू गरेको थियो।
नेपाली आन्तरिक हवाई उडानको बजारमा सबैभन्दा ठूलो बुद्ध एअरसँग ७२ सिट क्षमताका ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ जहाज छन्। एअरलाइन्सले अझै तीनवटा एटीआर–७२ जहाज खरिद गर्ने योजना बनाएको बताएको छ।
हवाई यात्रा थप सुरक्षित बनाउनुपर्छ
बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एअरले हवाई उडानलाई थप सुरक्षित बनाउनेगरी काम थालनी गरेको बताए।
आइतबार बुद्ध एअरले आयोजना गरेको विमानको मर्मतसम्भार र सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक बस्नेतले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउनसक्ने चुनौतीको सामना गर्नेगरी काम गरिरहेको बताए।
उनले नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअर विमानको मर्मतसम्भार र सञ्चालनका हिसाबले सुरक्षित रहेको दाबी गरे। उनले बुद्ध एअरको मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शीता राख्ने भएको बताए।
बुद्ध एअरले गत माघ १ गते भएको हवाई दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाउनको लागि विमान मर्मतलगायतका विषयमा थप कडाईका साथ काम थालनी गरेको उनले जानकारी दिए।
बुद्ध एअरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी रहेको उनको दाबी थियो। ‘बुद्ध एअरको मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शीता राख्ने हो। त्यो अनुसार बुद्ध एअरले कुनै पनि प्राविधिक तथा अन्य सूचनाहरु लुकाएको छैन। हवाई उडान, उडानको प्राविधिक पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य हुन्छ। बुद्ध एअर हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गराउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।