बुटवल– जालंधर भेष बदल्छन् र शीवजी बन्छन्। शीवजी बनेर पार्वतीलाई छल्न पुग्छन्। पार्वतीले पहिले नै थाहा पाउँछिन्, जालंधर रुप बदलेर आफूलाई छल्न आएको छ भन्ने। त्यसपछि पार्वतीले उनलाई रोक्न आफ्ना रक्षकलाई खटाउँछिन्, र भगवान बिष्णुको प्रार्थना गर्न थाल्छिन्।
स्वस्थानी ब्रतकथाको यो अंशमा आधारित रहेर आइतबार रुपन्देहीको मोक्षधाम सेवा आश्रममा झाकी प्रस्तुत गरिएको थियो।
मोक्षधाम सेवा आश्रमले प्रत्येक वर्ष महायज्ञ आयोजना गर्छ। तर यस वर्ष गत पुष २२ गतेदेखि आयोजना भएको महायज्ञ बिशेषताले भरिएको छ। महायज्ञहरुमा प्रवचन र कथा सुनाउनु स्वभाविक हो, तर कथाअनुसारको पात्र नै सिर्जना गरेर हरेक दिन झाकी देखाउनु भने नयाँ प्रस्तुती बनेको छ। त्यसैले यसपटक मोक्षधाम सेवा आश्रममा आयोजना भएको महायज्ञ बिशेषताले भरिएको आश्रमका अध्यक्ष रोमणी प्रसाद पाठक बताउँछन्।
गत पुष २२ गतेदेखि आश्रममा दैनिक रुपमा दिनको २ बजेदेखि करिव १ देखि २ घण्टासम्म झाकी देखाइने गरिएको छ। महायज्ञका प्रमुख वाचक पण्डित प्रकाश तिवारीले कथा सुनाउँछन् भने कथाअनुसार पात्रहरु सिर्जना गरेर नाटक प्रस्तुत गरिन्छ।
पण्डित तिवारी भन्छन्, ‘हामीले मोक्षधाम सेवा आश्रममा पहिलोपटक झाकीमार्फत् कथा देखाएर केही फरक गर्न खोजेका छौं। स्वस्थानी ब्रतकथा अहिलेसम्म भक्तजनले सुन्दै मात्र आउनु भएको थियो होला, तर हामीले मोक्षधाममा देखाउने प्रयास गरेका छौं।’
झाकीका कारण अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा रहेको मोक्षधाम सेवा आश्रममा आयोजना भएको ‘श्री स्वस्थानी ब्रतकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ’मा श्रद्धालु भक्तजनको उपस्थिती दिनप्रतिदिन बढ्दै जान थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।