काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताएका छन्।
शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन्।
‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीहरूको हितका पक्षमा केही महत्त्वपूर्ण काम गरेको थिएँ। विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धि लगायत महत्त्वपूर्ण काम भएका थिए। यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु’, उनले भने।
1674204659.jpeg)
प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताए। ‘देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु’, उनले भने।
प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरे।
प्रधानमन्त्री प्रचण्डले भने, ‘अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु। यो व्यवसाय संवेदनशील छ। यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ। यसभित्र थुप्रै विकृति र विसंगति छन्, त्यसको अन्त्य गर्नुपर्छ। मेरो विश्वास छ, सरकारको प्रयासमा तपाईहरूको साथ हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।