काठमाडौं– शनिबार हुने उपसभामुखको निर्वाचनका लागि नेपाली कांग्रेसले मुक्ता यादवलाई उम्मेदवार बनाएको छ।
शुक्रबार बिहान सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको पदाधिकारीहरूको छलफलपछि यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरिएको हो।
कांग्रेसले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्र सांसदहरूलाई आफ्नो पार्टीको पक्षमा मतदान गर्ने आह्वान गर्ने निर्णय पनि गरेको छ।
को हुन् मुक्ता यादव?
महोत्तरीमा जन्मिएकी यादवले २०५३ सालबाट राजनीतिक यात्रा सुरु गरेकी हुन्। उनले स्नातकसम्म अध्ययन गरेकी छन्। राजनीतिमा सक्रिय हुनुअघि उनी शिक्षण र कृषि पेसामा आबद्ध थिइन्।
मुक्ताले २०५३ मा कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ जिल्ला कार्यसमिति सदस्यबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन्। नेपाल शिक्षक युनियनमा समेत आबद्ध भएकी उनी २०५७ मा नेपाल शिक्षक संघको केन्द्रीय प्रतिनिधि भएकी थिइन्।
२०७० मा संविधानसभामा समानुपातिक सांसद समेत भएकी मुक्ताले संविधानसभा पदक समेत पाएकी छन्। मधेस प्रदेशबाट २०७४ मा उनी कांग्रेसको राष्ट्रिय सभा सदस्य बनिन्।
कांग्रेसको १४औं महाअधिवेशनमा यादवले सबैभन्दा बढी मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। अहिले उनी कांग्रेसकी समानुपातिक सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।