काठमाडौं– कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा परेका छन्। १८ दिनको शिशुलाई बुधबार अस्पतालमा कार्यरत चिकित्सक डा आशोक यादवले मृत घोषणा गरेका थिए।
डा यादवले मृत घोषणा गरेका शिशुको अहिले एक निजी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। जीवित शिशुलाई मृत घोषणाका विषयमा छनबिन गर्न अस्पतालले समिति गठन गरेको छ। छानबिन समितिले काम अगाडि बढाउने भएपछि डा यादव निलम्बनमा परेका छन्।
डा यादवलाई स्वास्थ्यमन्त्री पदम गिरीको निर्देशनपछि निलम्बन गरिएको हो। मन्त्री गिरीले घटनाका विषयमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र अस्पतालका प्रमुख डा लक्ष्यनारायण यादवसँग जानकारी लिएका छन्। उनीहरुसँग जानकारी लिएपछि मन्त्री गिरीले घटनाको यथार्थ विवरण छिटो बुझाउन निर्देशन दिएका छन्।
मन्त्री गिरीले घटनाका विषयमा चासो दिएपछि अस्पतालका प्रमुख डा यादव र मन्त्रालयका सचिव डा पोखरेलले सात दिनभत्रि प्रतिवेदन आइसक्ने जानकारी दिएका छन्।
अस्पतालका प्रमुख डा यादवले घटना लगत्तै उपचारमा संलग्न रहेका चिकित्सकसँग स्पष्टीकरण सोधिएको जानकारी समेत मन्त्री गिरीलाई दिएका छन्। स्पष्टीकरण चित्त नबुझेपछि छानबिन समिति गठन गरिएको हो।
घटनाको छानबिन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको छ। अस्पतालले उक्त घटनाका विषयमा यथार्थ जानकारी लिन अस्पतालका बाल रोग विशेषज्ञ डा प्रवीण कुमार नेतृत्वको तीन सदस्यीय कमिटी गठन गरेको हो।
बिहीबार गठन भएको उक्त कमिटीमा डा प्रवीणसहित बालरोग विशेषज्ञ डा सूर्यकान्त चौधरी र एकजना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल सदस्य रहेका छन्। नेपाल समितिका सदस्य सचिव हुन्।
१८ दिनको शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै अस्पतालमा कार्यरत मेडिकल अफिसर डा यादवले मृत घोषणा गरेका थिए। त्यसपछि आफन्तले शिशुलाई लिएर घर गएका थिए। तर शिशुले सास फेर्नुका साथै हातगोडा चलाएपछि परिवारले विराटनगरकै गोल्डेन अस्पतालम उपचारका लागि बुधबार नै लगेका छन्। शिशुको सोही अस्पतालको एनआईसीयूमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।