काठमाडौं– प्रतिनिधि सभाको सभामुखका लागि निर्वाचन हुँदा बिहीबारको बैठकमा ५ जना सांसद अनुपस्थित भएका छन्।
विहिबारको संसद बैठकमा वर्षमान पुन, बिनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी अनुपस्थित रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधि सभामा २६८ सांसदको उपस्थिति रहेको थियो। उपस्थित मध्ये १६७ जनाले नेकपा एमालेका उम्मेदबार देवराज घिमिरेलाई मतदान गरे। विपक्षमा १०० जनाले मतदान गरे। १ सांसदले तटस्थ बस्ने निर्णय गरे। घिमिरेको पक्षमा बहुमत भएपछि उनी नयाँ सभामुखको रुपमा निर्वाचित भएका छन्।
अनुपस्थित हुनेमध्ये माओवादी केन्द्रका सांसद पुन जन्डिस बल्झेका कारण अस्पतालमा छन्। कोइरीको विषयमा संसद्मै प्रश्न उठेको थियो। उनी कर्तव्य ज्यान मुद्दामा फरार भएकाले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएका थिए।
त्यस्तै राप्रपाका पशुपति शमशेर राणा सभाध्यक्षको रुपमा संसद सञ्चालन गरेका कारण उनले पनि मत दिएनन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा १ सांसद निलम्बित छन्। भ्रष्टाचारको अभियोग लागेका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।